स्वराजको भ्रमणबारे नेपाली नेताका सोसल मिडिया (कसले के भने ?)

काठमाण्डौं, माघ १९ ।
दुई दिने भ्रमणका लागि बिहीबार नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणलाई लिएर सोसियल मिडियामा निकै रोचक टिप्पणीहरु आएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘निम्तो’ मा उनको भ्रमण भएको भन्दै सामाजिक सञ्जालमा यो भ्रमणले रोचक चर्चा पाएको छ । कतिपयले सुष्माको भ्रमणपछि ‘एमालेको राष्ट्रवाद छर्लङ्ग भएको’ भन्दै ब्यंग्य गरेका छन् । सुष्मा स्वराजको भ्रमणबारे सामाजिक सञ्जालमा प्रमुख दलका केही नेताहरुसमेत बहसमा उत्रिएका छन् ।
एमाले नेतृ रामकुमारी झाँक्रीले सुष्मा स्वराजले आफू आएपछि नयाँ सरकार बन्यो भन्ने सन्देश दिन खोजेको बताएकी छन् । ‘मेडम आएर सरकार बन्यो भन्ने मेसेज दिन खोज्या होलान ?, उनले भनिन्–सम्बन्ध सुधार गर्न त नेपाली किसानका उत्पादन पनि सजिलै यताबाट उता जान दिनुपर्यो नि । सरकार यस बिषयमा ध्यान जाओस् ।’
नेकपा माओवादी केन्द्रका नेता रामदीप आचार्यले सांकेतिक रुपमा सुष्मा स्वराजको कोशेलीले नेपालीको राष्ट्रवाद धरापमा पर्ने हो कि भन्ने टिप्पणी गरेका छन् । नयाँ शक्ति पार्टी नेपालका नेता डम्बर खतिवडाले केपी शर्मा ओलीले भारतीय विदेश मन्त्रीलाई नेपाल बोलाउनै नमिल्ने टिप्पणी गरेका छन् । राप्रपाका नेता तथा पीके क्याम्पसका प्राध्यापक जयन्तनाथ खनालले केपी ओलीले एकल बहुमतद्वारा रात्रीभोज दिनु र शेरबहादुर देउवा नेतृत्वको सरकारले जथाभावी निर्णय गर्नु उस्तै भएको टिप्पणी गरेका छन् ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका अन्तर्रा्ष्ट्रिय मामिला विज्ञ गोपाल खनालले संविधान जारी हुने बेलामा भारतीय विदेशसचिव एस जयशंकर आउँदा पनि संविधान जारी भएजस्तै अहिले पनि केही नहुने टिप्पणी गरेका छन् । नयाँ शक्ति पार्टीका कृष्ण शर्माले सरकार नबन्दै ओलीले हतारो र चटारो गरेको भन्दै उनको राष्ट्रवादको घुम्टो खुल्दै जाने टिप्पणी गरेका छन् । ट्विटरमा यादव देवकोटाले पनि केपी ओलीको राष्ट्रवादप्रति आशंका गर्दै उनले सुष्मा स्वराजलाई भेट गर्नु र रात्रीभोज दिनुको आधार प्रष्ट नभएकोक उल्लेख गरेका छन् ।
केही दिनअघि भारतीय गणतन्त्र दिवसमा भारतीय दूतावासले आयोजना गरेको समारोहम नगएका केपी ओलीले सोल्टी होटलमा सुष्मा स्वराजलाई भेटेकोमा ट्विटरमा सिएन खड्काले प्रश्न उठाएका छन् । विश्लेषक जुगल भुर्तेलले सुष्मा स्वराजलाई कुबेलाको पाहुना भन्दै सरकार बनाउन भारतको सहयोग नचाहिने सन्देश को नेताले देला भनी प्रश्न उठाएका छन् । ट्विटरमा ओमकुमार थापाले सुष्मा स्वराजलाई सोल्टी होटलमा नै भेट्न गएर ओलीले भारतीय हेपाहा प्रवृत्तिलाई प्रोसाहन गरेको उल्लेख गरेका छन् । ट्विटरमा मनिता घिमिरेले एमालेको राष्ट्रवादको मृत्यु भएको उल्लेख गरेकी छन् । एमालेको राष्ट्रवादको मृत्यु भएपछि उ आर्यघाट नभई सिंहदरबार पस्ने उनले टिप्पणी गरेकी छन्
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सुष्मा स्वराजको अहिलेको भ्रमण ब्यवहारिक, राजनीतिक र कुटनीतिकरुपमा उपयुक्त नभएको बताएका छन् । ‘सामान्यता सुष्मा स्वराजको नेपाल भ्रमणको समय व्यवहारिक, राजनीतिक र कुटनीतिक रुपमा उपयुक्त छैन । यद्यपि उहाँलाई स्वागत छ, अनि उहाँको भ्रमणलाई उपलब्धीपूर्ण बनाउन प्रयास र कामना गर्छौं, उनले लेखेका छन्–तर, म फेरि दोर्होयाउँछु कि हामीले आफ्नो आत्मसम्मान कायम राख्नुपर्छ र राष्ट्रिय चाहनाप्रति केन्द्रित हुनुपर्छ ।’