स्वराजको भ्रमणबारे के भन्छन् काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा ?

पोखरा, माघ १८ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज यतिबेला दुईदिने नेपाल भ्रमणमा छिन् । उनी नेपाल आएपछि विभिन्न टिका टिप्पणी चलिरहेको छ । श्रोतका अनुसार उनको सरकारी भ्रमण हो । यद्यपी नेपाल आएपछि नेपालका प्रमुख दलका नेताहरुसँग उनको भेटघाट चलिरहेको छ । केहीबेरअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेकी उनले राजपाका नेताहरुसँग पनि आजै भेट्ने कार्यक्रम छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर नेपाल आएकी स्वराजको यो भ्रमणलाई नयाँ सरकार गठनअगाडि भएकाले विशेष महत्वका साथ हेरिएको छ । स्वराजले भोलि बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम छ भने लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्नेछिन् ।
स्वराजको भ्रमणलाई काँग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले सामान्य रुपमा लिनुपर्ने बताए । ‘छिमेकी राष्ट्रको विदेशमन्त्री नेपाल आउँदा फरक टिप्पणी गरिहाल्नु पर्ने छैन । तर वहाँको भ्रमण के बिषयमा केन्द्रित हुन्छ भन्ने बढी महत्वपूर्ण हुन्छ, डिएनए नेपाल डटकमसँगको कुराकानीमा उनले भने–वहाँको कार्ययोजना मलाई जानकारी छैन । विल्कुल सरकारी भ्रमण भएको मैले बुझेको छु ।’ ‘पार्टीको हिसावले वहाँलाई नेपालमा म स्वागत गर्छु । भ्रमण सफल होस् शुभकामना पनि छ, उनी भन्छन्–हतारमा भ्रमण आयोजना भएकाले केही आशंका मिडियामा सुनिएको छ । वहाँको कार्यक्रम पछि काँग्रेसको धारणा सार्वजनिक गरौंला ।’ स्वराज भोलि अपराह्न ४ बजे दिल्ली फर्कने कार्यक्रम रहेको छ ।