स्वतन्त्र समूह लिएर विन्दु कोइराला संघको चुनावमा

पोखरा, पुस १६ ।
पोखरा ।पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनका लागि अध्यक्षका उमेदवार विन्दु कोइराला सुवेदीले स्वतन्त्र समूह घोषणा गरेर चुनावमा होमिएकी छिन् । बुधबार पत्रकार सम्मेलन गरी सुवेदीले आफ्नो समूहको नाम र उम्मेदवार घोषणा गरेकी हुन् ।

उनको समूहमा वाणिज्य तर्फको उपाध्यक्षमा सोवित पौडेल, महासचिवमा धनीराज बराल, कोषाध्यक्षमा तारानाथ ढुंगाना, उपमहासचिवमा धर्मराज बर्तौला रहेका छन् । बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला प्यानलकै उम्मेदवार पवन प्रजापतिलाई सघाउने समूहले जनाएको छ । उद्योग उपाध्यक्षमा पनि समूहले कसैलाई उम्मेदवार बनाएको छैन । कार्यसमिति सदस्यहरुमा ४ जनाको मात्रै नाम छ ।

सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम, उत्तम सेवक कार्कीले उमेदवारी दिएका छन् । वस्तुगत र एशोसियट सदस्यतर्फ भने यो समूह बाट उमेदवारी घोषणा भएको छैन । संघमा हालसम्म महिला अध्यक्ष भएका छैनन् । अध्यक्षका प्रत्यासी विन्दु कोईराला सुवेदीले महिलापनि नेतृत्वका लागि सक्षम छ भन्ने उदाहरण प्रस्तुत गर्नका लागि पनि आफू उमेदवार भएको बताईन् ।

संघको आगामी पुस २४ र २५ गते महाधिवेशन हुन लागेको हो । उनी अध्यक्ष निर्वाचित भईन् भने पोखरा उद्योग बाणिज्य संघमा नयाँ इतिहास कायम हुनेछ ।