स्याङजालीसँग बुढी औंला लुकाउनुपर्छ भन्दा खुव रिस उठ्थ्यो–खगेन्द्र लामिछाने
पोखरा, पुस ८ ।
पोखरा फेवा किनारमा अहिले देश तथा विदेशबाट पनि साहित्यकर्मीहरुको जमघट छ । कलाकार, पत्रकार, लेखक देखि विभिन्न ब्यक्तिहरु लिटरेचर फेष्टिभलमा रमाईरहेका छन् । विभिन्न ब्यक्तिहरुसँगको गरमागरक गफगाफले महोत्सवको मेहफिल झन् तातिरहेको छ । केही प्रेरणाका कुरा, केही संघर्षका कथाहरु, केही सफल जीन्दगी, केही साहित्य, केही कल्पना र केही यथार्थहरु सबै पाटाहरु एकैठाउँमा घुलिरहेका छन् फेवातालसँगै ।
आईतबार लेखक बुद्धी सागरले कलाकार खगेन्द्र लामिछानेको जीवनका विभिन्न पाटा छिचोले । खगेन्द्र नेपाली चलचित्रका चम्कीला कलाकार । प्राकृतिक अभिनय गर्ने क्षमताकै कारण उनको चर्चा झनै चुलिएको छ । तर उनै चर्चित कलाकार खगेन्द्रको बास्तविक जीवन चाहीँ कसरी चलिरहेको छ ? प्रश्तुत छ खगेन्द्रसँग लेखक बुद्धीसागरको कुराकानी–
काठमाण्डौं कसरी छिर्नुभयो र सपनाको शहर कस्तो लागिराछ ?
एसएलसी पास गरेर काठमाण्डौं छिरें । आफन्त भएकाले पनि भोको पेट बस्नुपरेन । काठमाण्डौं छिर्दा बुबाले ५० वटा सयका आईसी दिनुभएको थियो । त्यही पैसाले अहिलेसम्म टिकिरहेको छु । काठमाण्डौं पसेको पछिसम्म पनि बुबाले पैसा पठाईरहनुहुन्थ्यो । मलाई पढाउँदा बुबालाई राम्रैसँग ऋणले थिचिसकेको थियो । घर आउँदा साहूहरु आउँथे । ऋण तिर्ने पैसा नहुँदा नरमाईलो लाग्थ्यो । अनि बुबालाई भने बुबा म विदेश जान्छु भने । तर बुबाले यस्तो भन्नुभयो–‘धत् लाटा ! पैसा कमाउन पनि विदेश जान्छन् त कोही ? विदेश त घुम्न जाने हो ।’ त्यसपछि मैले बुबालाई एकैदिन सबैको ऋण तिर्ने बचन दिएर काठमाण्डौं लागें । घरबाट निस्किएको ३ बर्षसम्म म गाउँ फर्किनँ ।
तीनबर्ष घरमा नआईकन संघर्ष गर्दै जाँदा मैले राम्रो ठाउँमा जागिर पाएँ, विविसी मिडिया एक्सनमा । मैले जे चिजमा काम गर्थें, त्यही काम पाएँ । त्यसकारण पैसा पनि राम्रै दिन्थ्यो । कलेक्सन गरें । अनि बैंकबाट अलिकति लोन निकालेर बुबाको सबै ऋण एकैदिनमा तिरिदिएँ । त्यसपछि चाहीँ संघर्षको एक चरण पार गरें भन्ने लाग्थ्यो, तर जीवन सँधै संघर्षशील हुँदो रैछ भन्ने त्यसपछिका दिनहरुमा सिक्दै आईराछु । र संघर्ष अहिले पनि जारी छ । संघर्षबाट मान्छे भाग्न पनि सक्दो रैन्छ, बच्न पनि सक्दो रैन्छ, त्यो चाहीँ मैले अनुभव गरेको छु ।
तपाईंलाई निकै छिटो रिसाउने मान्छे भन्छन् । आक्रोस ह्वात्तै बढ्छ पनि । यस्तो स्वभाव हुनुको पछाडी लामै कारण हुन्छ । यो जुन स्वभाव छ, यसको पछाडी केही छ कथा ?
यसको कथा त थाहा छैन । तर म सानोदेखि नै रियाक्ट गरिहाल्ने स्वभावको थिएँ । म एउटै छोरा हो । बुबासँग मेरो अत्यन्तै घनिष्ट र अत्यन्तै शत्रुतापूर्ण सम्बन्ध । किनभने बुबाले मलाई यस्तरी कुट्ने नि मलाई–ठीक ट्रयाकमा ल्याउनलाई । म चाहीँ ट्रयाक छोडेर हिड्न खोज्ने । बुबालाई एकदमै पढाउन रहर । म कसरी पढ्नुपर्दैन भन्ने सोच्ने । त्यसकारण त्यहाँ अल्टर भयो । अल्टर हुने वित्तिकै बुबाले धेरै कुट्नुहुन्थ्यो । कुटेपछि रियाक्ट गर्ने । बुबाले कुट्दा त रियाक्ट गर्ने मान्छे अरुलाई सहने कुरै भएन । त्यसरी पनि मेरो बानी यस्तो भयो होला । म कसैको नराम्रो चाहान्न । सबैको राम्रो होस् र फलोस फूलोस भन्ने चाहान्छु । त्यसकारण कुनैपनि मान्छेले मलाई अलिकति हेपेको फिल भयो अथवा कसैले मेरो कुभलो चिताएको फिल भयो र मेरो काम विगार्न भूमिका खेलेको महशुस भयो भने त्यो मान्छेसँग म एग्रेसिभ तरिकाले प्रश्तुत हुन्छु । थपडै हान्न परेपनि पछि पर्दिन ।
एकदिन रमाईलो घटना भयो–
दया (दयाहाङ राई) रियलसलमा ब्यस्त थियो । यता कमलमणी, मणीराम, सौगातहरु बसेर ठट्टा मजाक गरिराथ्यौं । गोलो कटेज थियो, गुरुकुलको आडमा । अनि मणी र कमल चाहीँ बडो जिस्किने स्वभावको थिए । सौगात चुपचाप सुनिरहन्थ्यो । अरु दुईजनाले चाहीँ स्याङजाली भनेपछि औंठा लुकाउनुपर्ने कुरा लिएर जिस्क्याउँथे । तेरो घरमा बुढी औंला छोपेर सुत्नुपर्छ रे नि हो भनेर जिस्क्याईराथे । मलाई रिस उठ्यो अनि मुक्का हानेर निस्किएँ । उता दया चाहीँ ओई खगेन्द्र नेपाली कागज छ भनेर सोध्यो ।
तमसुक गरिन्छ नेपाली कागजमा । उता त्यस्तै रिस उठेर मुक्का हानेर आको । यसले पनि जिस्क्यायो भन्ने ठानेर भकुरेर निस्केँ । अनि पछि मलाई फिल भयो, मिल्ने साथीलाई कुट्नु नहुने भनेर फकाउन गएँ । तैंले अघि किन कुटेको मैले थाहा पाएँ नि पो भन्छ । यसरी मेरो रिस देखाउँथे ।
कलाकारितामा प्रेरणाको निकै आवश्यक पर्छ । कहिलेकाहीँ प्रेरणापनि नपाईने वा कसैले दिएको प्रेरणाबाट पनि नपुग्ने हुन्छ । यस्तो बेलामा चाहीँ आफुँले आँफैलाई प्रेरणा चाहीँ कसरी निर्माण गर्नुहुन्छ ?
एउटा चरण पार भैसकेपछि प्रेरणाको श्रोत परिवर्तन हुने सम्भावना प्रवल हुन्छ । जस्तै हामीले सिनेमा लेख्दा चाहिने पात्र समाजबाटै टिप्ने हो । कोही कसैसँग भेट हुँदा एउटा सामान्य मान्छेपनि प्रेरणाको ठूलो श्रोत बन्छ कहिलेकाहीँ । एक समय आफूँभन्दा ठूलाले गरेको कामबाट ईन्स्पाएर भएर मैले पनि यस्तै गर्नुपर्छ भन्ने लाग्छ । तर त्यो प्रेरणा लिएर आँफैले केही गर्न थालिन्छ, काम गर्न थालेपछि प्रेरणाका श्रोतहरु अरु सामान्य मान्छेहरु बन्छन् । कहिलेकाहीँ साथीभाइहरु बन्छन् ।
Photo-Yunish Gurung/Photo Journalist