स्याङजामा गाउँपालिका अध्यक्षले प्रहरी कुटे

स्याङजा, कार्तिक ७ ।
स्याङजाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि नै हातपात गरेका छन् । हरिनास गाउँपालिका वडा नम्बर ६ दग्दीमा भएको भलिवल प्रतियोगितामा सामान्य भनाभन भएपछि अध्यक्ष मानन्धरले दार्सिङ प्रहरी चौकीका प्रहरी जवान रामनारायण चौधरीलाई कुटेका हुन् ।

क्याक्मी र दार्सिङका युवाहरुबीच भएको खेलका क्रममा विवाद उत्पन्न भएको थियो । त्यहि विवादलाई मिलाउन नसकेको भन्दै उनले प्रहरीमाथि हातपात गरेको स्थानीयले बताएका छन् ।

घटनाबारे छानबिन भैरहेको स्याङजाका प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी दिए । उनले गाउँपालिका अध्यक्षलाई बोलाईएको बताए । घाईते प्रहरी जवान चौधरीको स्थानीय मेडिकलमा उपचार गरिएको छ ।

उपचारको मेडिकल रिपोर्ट समेत झिकाईएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए । कानुन हातमा लिएर मनपरि गर्नेलाई सरकार प्रमुख भएपनि नछाड्ने उनी बताउँछन् ।

गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि एक झापड हानेको स्वीकार गरेका छन् । उनले प्रहरी नै आक्रमणकारीको संरक्षणमा लागेकाले घटना हुन पुगेको आरोप लगाए ।

दार्सिङका युवाहरुले हातहतियारसहित आक्रमण गर्दा प्रहरी रमिते बनेको उनको भनाई छ । आफ्नै दाजु सोमनारायण मानन्धरमाथी आक्रमण भएको र कार्यक्रमको स्टेज, कुर्ची तथा साउण्ड सिस्टममा तोडफोड भएको उनको गुनासो छ ।

मानन्धर तत्कालीन नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि पनि पटक पटक विवादमा आईरहेका उनलाई प्रहरीले धेरै पटक सम्झाएर छोडेको छ । कति पटक प्रहरीले नै बोलाएपनि उनी उपस्थित नभएकोले उनको प्रभाव नकारात्मक रहेको स्याङजा प्रहरीले जनाएको छ ।