स्थानीय सरकारलाई मुख्यमन्त्री गुरुङको चेतावनी–डोजरले घिसारेर अख्तियार पु¥याउला

पोखरा, मंसिर ११ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तह गैरकानुनी बाटोबाट चलिरहेको बताएका छन् । नियम, कानुन र संविधानको मर्म विपरित स्थानीय तहले कार्यविधिहरु बनाएको उनको आरोप छ । ‘नगरसभाले कानुन बनाउँदैन, गाउँसभाले कानुन बनाउँदैन । नगरपालिका र गाउँपालिकाले कानुन बनाईराछ । मैले धेरैतिरबाट सुनेको छु । यो गैर कानुनी छ, उनले भने–साथीहरुले ख्याल गर्नुस् । एकदिन डोजरले घिसारेर अख्तियार पु¥याउला । नियमकानुनलाई मिचेर अघि बढ्न सकिँदैन ।’

गण्डकी प्रदेशको प्रदेश समन्वय परिषद्को दोश्रो बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार र अनियमितताको नियन्त्रणमा ध्यान केन्द्रित गर्न स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरे । ‘ढुंगा गिटी बालुवाको निर्णय ब्यक्तिगत गर्नुहुन्न । संस्थागत निर्णय गर्नुपर्छ । मनपरि चलेका क्रसर उद्योग र खानीहरुलाई नियमभित्र ल्याउनुप¥यो, उनी भन्छन्–विधिभित्र छिराउनका लागि भएपनि केही समय खानी चलाउन बन्द गर्नुपर्ने अवस्था छ । हामीले बोलाउँदा आएनन् । अव बन्द गरिदिएपछि दर्ता हुन आउँछन् ।’

मुख्यमन्त्री गुरुङले आफुँहरु स्वतन्त्र सरकार नभएको दोहो¥याए । ‘हामी स्वतन्त्र सरकार होईनौं, स्वायत्त मात्रै छौं । हामीलाई कानुन बनाउने, बजेट बनाउने अधिकार छ । त्यसैले हामी सरकार हो, उनले थपे–तर संविधान फरक बनाउने अधिकार छैन । एउटै संविधानबाट चल्ने हो । त्यसैले हामी स्वतन्त्र छैनौं ।’ उनले जिल्ला समन्वय समिति चाहीँ सरकार हुन नसक्ने बताए । प्रदेश र संघको कुरा नसुनिकन स्थानीय तहले काम गरे त्यो, निन्दनिय र खण्डनिय भएको उनको भनाई छ । उनले सरकार गठनदेखि हालसम्मको अवस्था मुल्यांकन गर्दा उत्साही भएको धारणा राखे ।

‘प्रदेश र संघलाई नसुनिकन स्थानीय तहले गर्ने काम निन्दनिय, खण्डनिय र आलोच्य छ । प्रदेश सरकारले पनि संविधानलाई नटेर्ने र केन्द्रलाई उछिनेर गर्ने काम उत्तिकै आलोचनायुक्त छ । यस्तो कुराबाट हामी बच्नुपर्छ, उनले अघि भने–स्थानीय सरकार र प्रदेश सरकारलाई अलग बनाएर मुलुकको समृद्धी हासिल गर्छु भन्ने सोच संघले राख्यो भनेपनि त्यो असम्भव छ । एक्लैले समृद्धी हासिल गर्न सक्दैन । समझदारीको आधारमा अघि बढ्ने हो ।’

मुख्यमन्त्री गुरुङले उद्घाटन र शिलान्यासमा मन्त्री र सांसदलाई धेरै नबोलाउन स्थानीय सरकारसँग आग्रह गरे । ‘ गाउँमा मन्त्री, मुख्यमन्त्री सांसद लैजाने कुरालाई प्रतिष्ठासँग जोड्छौं । त्यसलाई ठूलो ठान्छौं । त्यो ठूलो कुरा होईन, उनले भने–मुख्यमन्त्रीलाई उद्घाटन र शिलान्यासमा धेरै नबोलाउनुहोला । शिलान्यास र उद्घाटन भन्दा उपलब्धी कति भयो, त्यो महत्वपूर्ण हो ।’ कर्मचारी र केन्द्रिय सरकारमा पूरानै मानसिकता भएका कारण सोचेजति काम गर्न नपाएको उनको टिप्पणी छ ।