स्थानीयले रोकेपछि अन्नपूर्ण आधार शिविरमा सडक नलैजाने गाउँपालिकाको निर्णय

पोखरा, असोज ५ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले पदमार्ग क्षेत्रमा सडक नखन्ने निर्णय गरेको छ । आधार शिविरको बाटोमा पर्ने स्थानीयहरुले सडक नखन्ने निर्णय गरेपछि गाउँपालिकाले त्यसैलाई समर्थन गरेको हो । विश्वकै उत्कृष्ट पदमार्ग क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकामा पनि नयाँ ट्रयाक खन्ने काम तिब्र चलिरहेको छ ।

सडक खनेपछि अन्नपूर्ण पदमार्ग नै हराउने भन्दै स्थानीयले झिनुभन्दा माथिल्लो क्षेत्रमा सडक नलैजान दवाव दिएका हुन् । उनीहरुले ३० बर्षसम्म सडक खन्न नमिल्ने अडान लिएका छन् । झिनुका सबै घरले हस्ताक्षर गरेर मोटरबाटो नलैजाने निर्णय गाउँपालिकालाई बुझाएका छन् ।

स्थानीयको सर्वसम्मत निर्णयलाई स्वागत गर्दै गाउँपालिका, टान पश्चिमाञ्चलले स्थानीयको धारणा विपरित काम नगर्ने गाउँपालिका अध्यक्ष युवराज कुवँरले बताए । मर्दि हिमाल ट्रेक र अन्नपूर्ण आधार शिविर पदयात्रा जोड्न अन्नपूर्ण गाउँपालिकाले पदमार्ग मर्मत शीर्षकमा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।