स्टालिन र किमको प्रशिक्षणले आएको पार्टी हैन, मदन भण्डारीको दिक्षा हो–मन्त्री बाँस्कोटा

पोखरा, साउन १४ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका कम्युनिष्ट स्टालिन र किम जोङ उनको प्रशिक्षणले नभई मदन भण्डारीको उपज भएको बताएका छन् । दयाशंकर स्मृति पत्रकारिता सम्मानबाट पत्रकार धर्मेन्द्र झालाई सम्मान गरेपछि सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टको दुई तिहाईबाट नआत्तिन आग्रह गरेका छन् ।

‘काँग्रेस पनि नेपालकै माटोमा हुर्किएको हो । कम्युनिष्ट पनि यही माटोको उत्पादन हो, उनले भने–कम्युनिष्टले जित्दा चाहीँ आत्तिनुपर्ने के छ ? नेपालको कम्युनिष्ट स्टालिन र किम जोङ उनबाट प्रशिक्षित भएको पार्टी होईन मदन भण्डारीले दिक्षित गरेको पार्टी हो ।’ उनले सञ्चार क्षेत्रमा नयाँ कानूनको निर्माणमा सरकार लागेको बताएका छन् । साना लगानीका सञ्चारमाध्यमको विज्ञापन सम्बन्धी खास कानुन निर्माणको काम थालेको उनको भनाई छ ।

‘डिजिटल सञ्चारमाध्यमको वर्गीकरण हुँदैछ । सामुदायिक र व्यावसायिक रेडियोको वर्गीकरण, मिडिया काउन्सिलको स्थापना लगायत काम अघि बढिसकेको छ, उनले भने–सञ्चारमाध्यम आलोचक हुनुपर्छ । सरकारलाई फिडब्याक आउँछ ।’ पत्रकारिताको खास मानक हुने भन्दै उनले सामाजिक सञ्जालका नाममा जथाभावी आउने कुरालाई सरकारले नियमन गर्ने उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सञ्चार माध्यमले सकारात्मक आलोचना गर्नुपर्ने बताए । मुलुकको समृद्धिको यात्रामा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने उनको भनाई छ । गण्डकी प्रदेशका विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले चाहीँ सञ्चार माध्यमले प्रतिपक्षको आवाज निकाल्नुपर्ने बताए । उनले बलियो लोकतन्त्रमा सदैव पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष झालाई ३३ हजार ३ सय ३३ रुपैयाँ सहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो । सम्मान ग्रहणपछि झाले पत्रकारिताको विश्वसनीयता लगायत विषयमा प्रश्न उठेको बताउँदै पत्रकारितालाई समाजले नियमन गर्ने जनाए । उनले पत्रकारिता सँधै स्वतन्त्र हुनुपर्नेमा जोड दिए ।

पुरस्कारका संस्थापक तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पत्रकारिता क्षेत्रमा योगदान गर्ने व्यक्तित्वको सम्मानका लागि अक्षयकोष स्थापना गरिएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, प्रतिभा छनौट समितिका संयोजक माधव शर्मा लगायतले बोलेका थिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद तिमिल्सीनाले गरेका थिए भने उपाध्यक्ष विमला भण्डारीले स्वागत गरेकी थिइन् ।