सुशासन कायम गर्नपनि कन्सल्टेन्टको प्रतिवेदन पर्खदै पोखरा महानगर

पोखरा, असार १ ।
पोखरा लेखनाथ महानगरपालिकामा सेवाग्राहीको एउटै गुनासो छ–कर्मचारीले समयमै काम नगर्ने । काम नभएको पनि होईन् । तर छिटो र छरितो रुपमा काम भने नहुने गरेको सेवाग्राहीको गुनासो दिनहुँ हुने गरेको छ । एउटै कामको लागि दिनहुँ धाउनुपर्ने बाध्यता रहेको गुनासो आउन थालेपछि पोखरा लेखनाथ महानगरपालिकाले सेवाग्राहीसँगको दुरी विश्लेषण (ग्याप एनालाईसिस)गर्न कन्सल्टेन्टलाई नै जिम्मा दिएको छ । महागरपालिकाभित्रको कमी कमजोरी पत्ता लगाउन अध्ययन गरिने छ ।

महानगरपालिका भित्र कर्मचारी बीच पनि समन्वय नभएको गुनासो व्याप्त छ । शाखा बीच समन्वय नहुदाँ सेवाग्राहीले दुख पाउने गरेका छन् । ‘महानगरपालिकामा सुशासन कायम गर्न र सेवाग्राही र कर्मचारी बीचको दुरी विश्लेषण गर्न निजी कम्पनीले जिम्मा दिएका छौं ।’ पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने–‘कम्पनीको रिपोर्ट आएपछि जोरकोड नमिलेको भए महानगरपालिकाले मिलाउँछ ।’ उनका अनुसार नयाँ संरचना अनुसार अगाडि बढ्नुपर्ने अवस्थामा पुरानै शैलीमा सेवाग्राहीको गुनासो आउन थालेपछि अध्ययन नै गर्नुपर्ने जिम्मेवारी महानगरपालिकाले कम्पनीलाई सुम्पिएको हो । महानगरपालिकाले त्यसको लागि पिके कन्सल्टेन्टलाई आवश्यक रिपोर्ट पेश गर्ने गरी जिम्मेवारी दिएको छ । ‘हप्ता दशदिनभित्रमा रिपोर्ट आईसक्छ ।’ मेयर जिसीले भने ।

महानगरपालिका कार्यालयमा राईट म्यान राईट प्लेस हुन नसकेको हो कि भन्ने अन्यौल समेत रहेको छ । कार्यालयमा कार्यरत केही कर्मचारीले मानसिक रुपमै काम नगर्ने परिस्थिति समेत रहेको औंल्याएको छ । लामो समयदेखि अस्थायी र करारमा रहेका कर्मचारीको सेवाग्राहीलाई सहज सेवा दिनेतर्फ मानसिकता नभएकोले पनि गुनासो आएको अनुमान गरेको छ । तर ठोस निष्कर्ष भने रिपोर्टपछि मात्रै पाउन सकिने महानगरपालिकाले जनाएको छ ।

रिपोर्टपछि महानगरपालिकाले सेवाग्राहीको जनगुनासो न्युनिकरण गर्दै सुशासन कायम गर्ने तर्फ अग्रसर हुने विश्वास भने महानगरपालिकाका मेयर जिसीले व्यक्त गरेका छन् । ‘कमजोरी कहाँनेर रह्यो भन्ने चासो महानगपालिकाको हो ।’ मेयर जिसीले भने–‘कर्मचारी, नेतृत्वको वा संस्थाको कमजोरी पत्ता लगाई काम गर्नु छ ।’ महागरपालिका कार्यालयमा वडासहित गरेर ८०० भन्दा बढी कर्मचारी कार्यरत छन् । कन्सल्टेन्टले महानगरपालिकाका कर्मचारीसँग हेड टु हेड कुराकानी समेत गरेर रिपोर्ट तयार पार्ने महानगरपालिका मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए । बरालका अनुसार १० दिनभित्रमा प्रतिवेदन पेश गर्ने समयसीमा तोकिएको छ ।

महानगरपालिकाले ग्याप एनालाईसिस गर्न झण्डै पाँच लाख रुपैयाँ खर्चको अनुमान गरेको छ । यद्यपी खर्चको विषयमा भने केही खुलाईएको छैन् । कन्सल्टेन्टका प्रमुख विज्ञान लोहनीको नेतृत्वमा ६ जनाले अध्ययन गरिरहेका छन् । ‘काम शुरु गरेको झण्डै महिना दिन हुन लाग्यो । रिपोर्ट पेश गर्ने समय अब हामीलाई १० दिन मात्रै छ ।’ कन्सल्टेन्टका कर्मचारी प्रकाश झाले भने–‘समय निकै छोटो छ । नयाँ कुरा केही आएको अवस्थामा समय माग गरेर रिपोर्ट पेश गर्छौ ।’

जनताको गुनासो व्यापक छ । एकै दिनमा हुनुपर्ने जन चाहना छ । कर्मचारीले राम्ररी काम गर्ने परिपाटी व्यास्त छ । जननिजामति कर्मचारी र स्थानीय तहका कर्मचारी बीचको तालमेल नमिलेको देखिएको छ । उनले अध्ययनसहितको रिपोर्ट सार्वजनिक गर्ने महानगरपालिका भने पोखरा पहिलो भएको बताए ।