सुरु भयो प्रदेश ४ मा मन्त्रिपरिषद्को कार्यालय (फोटो फिचर)

प्रकाश ढकाल
पोखरा, माघ १८ ।
प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् कार्यालय विहिबारदेखि सञ्चालनमा आएको छ । विशेष कार्यक्रमका बीच प्रदेशका प्रमुख सचीव सहित ३ सचीवले कार्यभार सम्हालेपछि प्रदेशसभा बस्नु अघि नै मन्त्रीपरिषद्को कार्यालय सुरु भएको हो । प्रदेश नम्बर ४ मा प्रमुख सचीवको रुपमा साविकका क्षेत्रीय प्रशासक लक्ष्मण अर्याललाई खटाईएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचीवको रुपमा लालमणी ओझाले कार्यभार सम्हालेका छन् । उता आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचीवको रुपमा फणिन्द्रमणी पोख्रेल नियुक्त भएर विहिबारदेखि नै काममा खटिईसकेका छन् ।  
कार्यभार सम्हालेपछि प्रमुख सचीव लक्ष्मण अर्यालले प्रशासनीक रुपमा प्रदेशका संरचना तयार तयार गर्ने काममा जुट्ने बताए । ‘संसदीय दलको बैठक पछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुहुन्छ । त्यसपछि राजनीतिक रुपमा पनि प्रादेशिक संरचना तयार हुन्छ, उनले भने–त्यसअघि नै प्रशासनीक संरचना तयार भैसक्छ र मन्त्रीमण्डल विस्तार भएपछि वहाँहरुकै भिजनअनुसार काम सुरु गर्छौं ।’
सरकारले प्रदेश तहमा ७ वटा मन्त्रालय राख्ने तयारी गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सँगै आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमी, कृषि तथा सहकारी मन्त्रालय प्रादेशिक तहमा कायम हुनेछन् । कानुनअनुसार तोकिएका काम तत्कालै थाल्ने सचिवहरुको भनाई छ ।