सुरु भयो प्रदेश ४ को सिंहदरबार

प्रकाश ढकाल
पोखरा, माघ १९ ।
प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् कार्यालय विहिबारदेखि सञ्चालनमा ल्याईएको छ । विशेष कार्यक्रमका बीच प्रदेशका प्रमुख सचीव सहित थप २ सचीवले कार्यभार सम्हालेपछि प्रदेशसभा बस्नु अघि नै मन्त्रीपरिषद्को कार्यालय सुरु भएको हो । प्रमुख सचीवको रुपमा सरकारले पश्चिम क्षेत्रका क्षेत्रीय प्रशासक लक्ष्मण अर्याललाई नियुक्त गरेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सचीवको रुपमा लालमणी ओझाले कार्यभार सम्हालेका छन् । प्रदेशमा बलियो मन्त्रालयको रुपमा हेरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय (प्रदेश गृह) को सचीवको रुपमा फणिन्द्रमणी पोखरेलले पदवहाली लिए । तीनैजना विशेष पुजाआजा सहित आफ्नो कार्यकक्षमा प्रवेश गरेका हुन् । पोखराको पार्दीस्थित निर्माणाधीन सीप विकास भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय विहिबार स्थापना भएको छ । हिन्दु परम्पराअनुसार पुरोहितबाट पूजाआजा गरेर मन्त्रालय सञ्चालनमा ल्याइएको हो । केहीदिन भित्रै आर्थिक मामिला तथा योजना मन्त्रालय पनि सोही भवनमा स्थापना गरिने छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने जिम्मेवारी पाएका प्रमुख सचीव अर्यालले सरकार गठन नभएकाले मन्त्रिपरिषद् बिस्तार अघिको आवश्यक तयारी थाल्नेछन् । कार्यभार सम्हालेपछि उनले तत्कालै सेवा प्रवाहका काम नहुने भन्दै मन्त्रीहरुको बहाली र स्वागतका लागि संरचना तयार गर्ने काममा जुट्ने बताए । ‘संसदीय दलको बैठक पछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुहुन्छ । त्यसपछि राजनीतिक रुपमा पनि प्रादेशिक संरचना तयार हुन्छ, उनले भने–त्यसअघि नै प्रशासनीक संरचना तयार भैसक्छ र मन्त्रीमण्डल विस्तार भएपछि वहाँहरुकै सोच र दृष्टीकोण अनुसार काम गर्छौं ।’ उनले २२ गतेको प्रदेशसभालाई भब्यताका साथ सफल गर्ने र कार्यसम्पादन तथा कार्यसञ्चालन नियमावलीबारे छलफल चलाएर पारित गर्ने बिषयमा ध्यान केन्द्रित हुने बताए । केही सचीवहरुले कार्यभार सम्हालेपनि तल्ला तहका कर्मचारी भने हाजिर भैसकेका छैनन् । ‘सम्भवतः यो महिनाभरीमा सबै सचीव ज्यूहरु आईसक्नु हुन्छ, उनी भन्छन्–उच्च नेतृत्वले बहाली गरिसकेपछि तलका कर्मचारी विस्तारै पूरा हुन्छ ।’ पदवहाली पछि गृहसचीव फाणिन्द्रमणी पोखरेलले आवश्यक कानुन र कार्यविधी तयारीमा जुटिसकेको प्रतिक्रिया दिए । यो मन्त्रालयलाई तत्कालै ४१ वटा कानुन निर्माणको जिम्मेवारी दिएको छ । कर्मचारी आउने क्रम चलिरहेकाले कर्मचारीको पदपुर्ति लगत्तै तीव्र रुपमा काम थाल्ने उनको भनाई छ ।
सरकारले प्रदेश तहमा ७ वटा मन्त्रालय राख्ने तयारी गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सँगै आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमी, कृषि तथा सहकारी मन्त्रालय प्रादेशिक तहमा कायम हुनेछन् । कानुनअनुसार तोकिएका काम तत्कालै थाल्ने सचिवहरुको भनाई छ । सीप विकास भवनको ३ मन्त्रालय बाहेक बाँकी ४ वटा मन्त्रालय पायक पर्ने गरी नजिकैका सरकारी कार्यालयमा राख्ने तयारी भैरहेको छ । त्यसका लागि आवश्यक संरचना मर्मत पनि चलिरहेको छ । प्रमुख सचीव अर्यालका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्रीको कार्यालयको आडैमा बन्दै गरेको क्षेत्रीय वन निर्देशनालयको भवनमा रहनेछ । ३० गतेभित्रै निर्माण सम्पन्न हुने र मन्त्रालय स्थापना गरिने उनको भनाई छ । शहरी डिभिजन कार्यालयको भवनमा भौतिक तथा पूर्वाधार निर्माण मन्त्रालय, क्षेत्रीय शिक्षा निर्देशनालयमा सामाजिक विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई सहकारी डिभिजन कार्यालयमा राखिने उनले बताए । प्रदेशका सातवटै मन्त्रालयमा करिब २ सयजना कर्मचारी खटाईएको छ । मुख्यमन्त्रीको कार्यालयमा २१ जना, आन्तरिक मामिलामा २३ जना, आर्थिक, योजनामा १८ जना, भौतिक पूर्वाधारमा २४ जना, भूमि, कृषि तथा सहकारीमा २९ जना, उद्योग, पर्यटनमा २९ जना, सामाजिक विकासमा ३० जना कर्मचारी खटाएको अर्याल बताउँछन् । कर्मचारीको तीब्र तयारीले मन्त्री नियुक्त हुनेवित्तिकै पदभार सम्हाल्न मिल्नेछ ।