सुन अहिलेसम्मकै सबैभन्दा महंगो, अझै बढ्न सक्ने

काठमाण्डौं, असार ९ ।
सुनको मूल्य लगातार बढिरहेको छ । विश्व अर्थतन्त्रमा अहिले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएको लगातार बढिरहेको सुनको मूल्यले पुष्टि गर्छ । आज सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो । यो मूल्य नेपाली बजारको हालसम्मकै उच्च हो ।

सरकारले बजेटमार्फत सुन आयातमा भन्सार महसुल बढाएपछि सुन लगातार बढ्न थालेको हो । अहिले नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । इरान र अमेरिकाको राजनीतिक युद्ध, अमेरिका र चीनको व्यापारिक युद्ध तथा भारत र अमेरिकाको व्यापारिक युद्धजस्ता कारणले सुनको मूल्य बढेको व्यवसायीहरू बताउँछन् ।

सुनलाई तरल पुँजीको रूपमा लिने गरिएको छ । यही तरल पुँजीका रूपमा लिएको सुन पछिल्लो समय बढिरहँदा कतिपयलाई आफूसँग भएको सुन बेचेर नगद हात पार्ने सोच पनि होला । तर व्यवसायीहरू अझै सुनको मूल्य बढ्न सक्ने बताउँछन् । तत्काल ठूला देशहरूको युद्ध मत्थर हुने सङ्केत नदेखिएको सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए ।

खासगरी नेपालमा सुनको मूल्य अन्तर्रा्ष्ट्रिय बजारले निर्धारण गर्छ र सुनको किनबेच डलरमा हुन्छ । तर अमेरिका पटक पटक कुनै न कुनै देशसँगको विवादमा फस्ने गरेको छ । यसले गर्दा ग्लोबल लगानीकर्ताहरूले गर्ने डलरको लगानी सुनतर्फ लगाउने गरेका छन् ।

तर पछिल्लो मूल्य भने नेपाल आउँदा दुई गुणा बढ्नुमा सरकारले बजेटमार्फत सुनको आयात गर्दा बढाएको भन्सार महसुल वृद्धि नै हो । सरकारले बजेटमा सुनमा प्रतितोला एक हजारको दरले भन्सार महसुल वृद्धि गरेको छ । १० ग्राममा ८ सय रुपैयाँ तिर्नुपर्छ ।

सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य ग्लोबल अर्थतन्त्रमा लगानीकर्ताहरू अन्य क्षेत्रमा लगानी गर्न डराएकाले सुनमा लगानी आकर्षित हुन थालेको बताउँछन् । शाक्य भन्छन, ‘इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि थप द्वन्द्व चर्कने देखिएको छ । अमेरिकाले पर्सियन खानीमा अचानक सेना तैनाथ गरेको छ । इरान र अमेरिकाको राजनीति युद्ध सुरु भएको छ । ग्लोबल मार्केटमा लगानीकर्ताहरू अरू क्षेत्रको लगानीबाट त्रसित भएर सुनतर्फ लागेका छन् ।’

सुनको मूल्य ठूला देशहरूको युद्ध के हुन्छ, त्यसमा भर पर्ने भएको बताउँदै शाक्यले अझै यो द्वन्द्व मत्थर हुने नदेखिएकाले अझै केही दिन सुन पुरानो मूल्यमा फर्कन नसक्ने जनाए । नेपाल सुन चाँदी व्यवसायी महासंघले प्रत्येक दिन अन्तराष्ट्रिय मूल्यको आधारमा नेपालमा सुनको मूल्य तोक्ने गरेको छ ।