सुकुम्बासीको दीर्घकालीन समाधान खोज्छौं ः मेयर जिसी

पोखरा, जेठ ६ ।

पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीले सुकुम्बासी समास्यलाई दीर्घकालीन समाधानको उपाय खोजिने बताएका छन् । भूमिहीन अधिकार मञ्च पोखराको आइतबार ज्ञापनपत्र बुझ्दै मेयर जिसीले सुकुम्बासी समस्या साझा भएकाले प्रदेश सरकारले कानुन बनाएपछि महानगरपालिकाले उपयुक्त स्थान खोजेर दीर्घकालीन रुपमा समाधान हुनेगरी काम गर्ने बताए । ‘भूमिहीनको समस्या समाधान र व्यवस्थापन छिट्टै गरिने छ’, मेयर जिसीले भने,‘ वास्तविक भूमिहीनको पहिचान गरेर समस्याको उपाय खोजिने छ ।’

भूमिहीन सुकुम्बासीको स्वास्थ्य, शिक्षा, लगायतका मौलिक अधिकारको बारेमा महानगर सचेत रहेको भनाइ मेयर जिसीको छ । उनले भूमिहीन अधिकार मञ्चका सदस्यहरुलाई आगामी आर्थिक वर्षमा सुकुम्बासी समस्या हल गर्न ठोस कदम चल्ने प्रतिबद्धता व्यक्त गरे । भूमिहीन अधिकार मञ्च पोखराले ४ बुँदै ज्ञापनपत्र महानगरपालिका मेयर मानबहादुर जिसीलाई बुझाएको हो । मञ्चले बुझाएको ज्ञापनपत्रमा भूमिहीन सुकुम्बासीहरुलाई विगतमा सरकारले दिएको प्रमाणहरुको आधारमा स्वास्थ्य, शिक्षा रोजगारसहित बसोबास गरी आइरहेको ठाउँहरुमा लालपूर्जासहित व्यवस्थापन गर्न माग गरिएको छ । बाढी तथा पहिरो पीडित र प्रकृति प्रकोपमा परी विस्थापित भएका भूमिहीन सुकुम्बासीहरुलाई पनि लालपूर्जा दिनुपर्ने मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले बताए ।

जग्गा भएका तर,आफै खेती गर्न नचाहनेले स्थानीय तहसँग औपचारिक कागज गरी स्वामित्वमा असर नपर्ने गरी करार खेती नीति बनाउन मञ्चले माग गरेको छ । जग्गाको गुणस्तर कायम राखेर उत्पादशील क्षेत्रलाई जोड दिन साना किसान तथा गरिब परिवारलाई निशुल्क रुपमा जग्गा लिने दिने व्यवस्था गर्न करार खेती नीति बनाउन मञ्चले माग गरेको हो । भूमिहीन सुकुम्बासीहरुलाई व्यवस्थापन गर्न कास्की जिल्लामा बन्ने सुकुम्बासी व्यवस्थापन समिति वा आयोगमा मञ्चको प्रतिनिधित्व अनिर्वाय गराउन मञ्चले मेयरको ध्यानाकर्षण गराएको छ ।