सिरुबारीले रुद्रमानलाई सम्झिएको दिन (फोटोफिचर)

प्रकाश ढकाल
सिरुबारी, पुस १७ ।
जतिबेला तत्कालीन विद्रोही नेकपा माओवादीको सशस्त्र द्धन्द्ध चल्दै थियो । देश पूरै आक्रान्त थियो । राज्य र विद्रोही पक्षको भिडन्तले देशको अर्थतन्त्र डामाडोल थियो । आँफ्नै घर नमिलेको बेला कुन पाहुना बलेनीबाट पस्छ ? देश नै द्धन्द्धले थिलथिलो भएका बेला विदेशी पाहुना नेपाल ल्याउने र आतिथ्यता दिन सजिलो थिएन । असहज परिस्थितीमा चुनौती मोलेरै पर्यटक ल्याएर गाउँ डुलाउने पहिलो नेपाली हुन्, रुद्रमान गुरुङ । जसलाई अहिले गाउँ पर्यटनका पिता मानिन्छ । गाउँ पर्यटनको श्रेय नेपालमा कसैलाई छ भने त्यो एउटै नाम हो, रुद्रमान । २०५४ सालमा स्याङजाको सिरुबारीमा घरबास कार्यक्रम सञ्चालन गरेर पर्यटक बोलाउने काम रुद्रमानले थाले । त्यसपछि नेपालमा विस्तारै घरबास (होमस्टे) विस्तार हुन थाल्यो । अहिले अधिकाशं गाउँहरुमा होमस्टे चल्छ । होमस्टे थाल्ने रुद्रमान गुरुङ २ बर्षअघि बिते । उनको निधन २०७२ फागुन १५ गते निधन भएको हो । सिरुबारीका बासिन्दा अझैपनि रुद्रमानलाई सम्झिँदै बस्छन् ।  गाउँ पर्यटनबाट चिनिएको सिरुबारीमा रुद्रमानलाई सम्झिने नयाँ बाहना थपिएको छ, अहिले । पर्यटन समिति सिरुबारीले रुद्रमान गुरुङको अर्धकदको शालिक निर्माण गरेको छ । ‘सिरुबारी चिनाउने रुद्रमानलाई हामी विर्सिन सक्दैनौं, पर्यटन समितिका संयोजक जुम गुरुङले भने–वहाँको सम्झना र सम्मानका लागि शालिक निर्माण गरेका हौं । यसले दीर्घकालसम्म पर्यटकलाई सिरुबारी र रुद्रमानको बारेमा बुझाउन सजिलो हुन्छ ।’ उनका अनुसार समितिले आफ्नै लगानीमा साढे ४ लाख रुपैयाँ खर्चिएर शालिक निर्माण गरेको हो ।
शालिकको तमु ल्होसारको अवसरमा नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अनावरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले रुद्रमान गुरुङ सारा नेपालले सम्झिरहने बताए । ‘नेपालको पर्यटन विकासमा वहाँको योगदान हामीले कहिलै भुल्न सक्दैनौं । रुद्रमान बुवा सँधै अमिट छाप बनेर हाम्रो मस्तिष्कमा हुनुहुन्छ–उनले भने ।’ उनले सिरुबारीको विकासले मात्रै रुद्रमान गुरुङको सम्मान हुने भएकाले आँफु त्यसका लागि प्रतिबद्ध रहेको बताए । कोइरालाले सिरुबारीसम्म पक्की सडक निर्माणका लागि आँफुले पहल गर्ने प्रतिबद्धता जनाए । गुरुङको २०७२ साल फागुन १५ गते निधन भएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ तथा स्थानीय सरस्वति गुरुङले रुद्रमान गुरुङले छरेको पर्यटनको विउलाई हुर्काइछाड्ने बताईन् । ‘रुद्रमान बुवा होम स्टेको बैज्ञानिक हुनुहुन्छ । हामीले सम्झिरहेका छौं, उनले भनिन्–वहाँकै आसिर्बादले यो गाउँ पर्यटकीय भनेर चिनियो । आसिर्बाद कहिल्यै भुल्दैनौं ।’

कार्यक्रममा नेपाली काँग्रेस स्याङजाका सभापति कमल पंगेनी, पूर्व सांसद राजु थापा, काँग्रेस नेता शंकर पाण्डे, तुलसी गिरी लगायतले रुद्रमान गुरुङ विकास र पर्यटनको महानायक भएको भन्दै उनको पहल विना सरकारले सिरुबारीमा लगानी गर्न नसक्ने स्मरण गरे । ‘हरेक कुरामा सरकारलाई घचघच्याउने काम रुद्रमानजीले गर्नुभयो । वहाँको पहलले नै सरकार सिरुबारीसम्म लगानी गर्न बाध्य भयो, उनीहरुले भने–वहाँ त यस क्षेत्रकै महानायक हुनुहुन्छ । नयाँ पुस्ताले वहाँको बाटोलाई छोड्नु हुँदैन ।’ बुद्ध आमा समूहकी अध्यक्ष चन्द्रमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्थानीय अगुवा प्रदीप गुरुङले गरेका थिए ।