सिरिया संकट–यौनसँग राहत साँट्दै, शोषण बढ्यो

एजेन्सी, फागुन १६ ।
सीरियाको राहत क्याम्पमा महिलाहरुको यौन शोषण भएको छ । बीबीसीको एक रिपोर्टअनुसार संयुक्त राष्ट्रसंघ एवं अन्तर्राष्ट्रिय विभिन्न संगठनको सहयोगमा राहत बाँड्न पुगेका पुरुष राहतकर्मीले महिलाहरुलाई यौन शोषण गरेका छन् । राहतकर्मीहरुले एकछाक भोजन उपलब्ध गराए वापत यौन प्यास मेट्ने गरेको समाचारमा उल्लेख छ । देशको दक्षिण भागमा यो समस्या ब्यापक छ । स्वम् राहतकर्मीले बीबीसीलाई दिएको जानकारीअनुसार महिलामाथीको यौन शोषण डरलाग्दो रुपमा भइरहेको छ । जसको कारण सिरियाली महिलाहरु राहत वितरण केन्द्रमा जान मानिरहेका छैनन् । एक राहतकर्मी दावी गर्दै भन्छन्, ‘केही मानवतावादी एजेन्सीले घटनालाई देखे पनि नदेखेजस्तो गरिरहेका छन् ।’ संयुक्त राष्ट्र संघ जनसंख्या कोषको मूल्याङ्कनमा यो पनि उल्लेख छ । मद्दत सामग्री दिने बहानामा महिलाको यौन शोषण भएको छ । संगठनले यो मूल्याङ्कन गएको वर्ष सिरियाको विभिन्न स्थानमा गरेको थियो ।
भ्वाइस फ्रम सीरिया २०१८ नामको यस रिपोर्टमा लैंगिक हिंसाको विश्लेषण गरिएको छ । जुन रिपोर्टमा भनिएको छ, ‘महिला एवं युवतिहरुले अधिकारीहरुसँग केही समयका लागि बिहे गरेका छन् । उनीहरुको विवाहको उद्देश्य हुन्छ पेटभरि खान पाइयोस् । त्यसको बदलामा अधिकारीहरु यौन प्यास मेट्छन् ।’ रिपोर्टमा उल्लेख भएअनुसार राहतकर्मीहरु महिलाको फोन नम्बर माग्छन् र घरमै पुग्छन् । पति गुमाएका एकल महिला र सम्बन्ध बिच्छेद भएका महिलाहरु उनीहरुको निशानामा पर्ने गरेका छन् । यस किसिमको घटना तीन वर्ष पहिला पनि सार्वजनिक भएको थियो । द इन्टरनेशन रेस्क्यु कमिटीले यस किसिमको सर्भे जुन २०१५ मा सार्वजनिक गरेको थियो जहाँ १९० महिला एवं युवति सहभागी थिए । रिपोर्टमा उल्लेख भएअनुसार ४० प्रतिशत महिलाले यौन हिंसाको शिकार भएको बताएका छन् । कमिटीका प्रवक्ताले भनेका छन्, ‘सर्भेको निष्कर्षअनुसार दक्षिण सिरियामा यौन हिंसा व्यापक चिन्ताको विषय बनेको छ । जहाँ राहत सामग्रीको बदलामा यौन शोषण गरिन्छ ।’ बीबीसीले यस रिपोर्टलाई १५ जुलाई २०१५ को संयुक्त राष्ट्र संघ जनसंख्या कोषको बैठकमा पेश गरेको थियो । जोर्डनको राजधानी अम्मानमा भएको यस बैठकमा संयुक्त राष्ट्र एवं अन्तराष्ट्रिय संगठनले सहभागीता जनाएका थिए ।