सिद्धी–सेतुली स्मृति पुरस्कार तझ्यालाई, सानिमा स्मृति पुरस्कारबाट गुरुङ पुरस्कृत

पोखरा, माघ ७ ।
सिद्धी–सेतुली स्मृति प्रतिष्ठान पोखराले स्थापना गरेको सिद्धी–सेतुली स्मृति पुरस्कारबाट यसबर्ष प्रमिला तझ्या पुरस्कृत भएकी छिन् । एकल महिलाको हक अधिकारका क्षेत्रमा योगदान गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो । यस्तै सानिमा स्मृति पुरस्कारबाट अपाङ्गताको क्षेत्रमा योगदान गरेका हेमबहादुर गुरुङ पुरस्कृत भएका छन् । डेढ दशकदेखि उनी अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकारका क्षेत्रमा निरन्तर क्रियाशिल छन् ।

दुवै पुरस्कारको राशी १० हजार नगद र सम्मानपत्र छ । प्रमुख आमन्त्रीत ब्यक्तित्व डा. कुमार समशेर राणाले विशेष समारोहका बीच सोमबार पुरस्कार अर्पण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक क्षेत्रमा योगदान गरेका ब्यक्ति तथा संस्थालाई सिद्धी–सेतुली स्मृति प्रतिष्ठानले पुरस्कृत र सम्मानित गर्दै प्रशंसनीय काम गरेको बताए । उनले सहज जीवन बिताउन र अधिकारका क्षेत्रमा निरन्तर लागिरहन दुवै पुरस्कृत ब्यक्तिलाई आग्रह गरे ।

कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरेशकुमार राजभण्डारी, साहित्यकार तथा पश्चिमाञ्चल विकास मञ्चका संरक्षक धर्मराज बराल, पोखरा सफाइ अभियानका अभियान्ता रामबहादुर पौडेल, पुरस्कृत ब्यक्ति द्धय तझ्या र गुरुङले बोलेका थिए । संस्थाका संरक्षक विश्वरत्न शाक्यले संस्थाले गर्ने कामबारे जानकारी गराएका थिए । प्रतिष्ठानले खासगरि गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ भने सामाजिक क्षेत्रमा क्रियाशिल ब्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कृत गरिरहेको छ । कार्यक्रममा ‘मैत्री शिक्षा समूह’का बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए । प्रतिष्ठानका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कल्याण पन्तले गरेका थिए ।