सिक्लेस जाने बाटो पीच गर्न सघाउने प्रचण्डको प्रतिबद्धता

पोखरा, मंसिर २४ ।
नेकपा कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिक्लेससम्म जाने बाटो पक्की गर्न आफूले सहयोग गर्ने बताएका छन् । मादी गाँउपालिका र पोखरा महानगरको सिमानामा पर्ने विजयपुर खोलामा पुलको शिलन्यास गर्दै अध्यक्ष प्रचण्डले सिक्लेस आफूहरुका लागि ऐतिहासिक ठाउँ भएको भन्दै यस क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘पहिलो पटक शान्ति प्रक्रियामा आउँदा हामी सिक्लेसबाट काठमाडौँ गएका थियौँ’, अध्यक्ष प्रचण्डले भने, ‘त्यतिबेला गृहमन्त्रीका हिसाबले कृष्णप्रसाद सिटौला हामीलाई लिन आउनुभएको थियो ।’ सोमबार अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता कृष्ण सिटौलासहितको टोली सिक्लेसमा शान्ति स्तम्भको उद्घाटनाका लागि जाँदै छ ।

‘शान्ति सम्झौतासँगै संविधान घोषणा भएपछि निर्वाचन सम्पन्न गरेर नयाँ राजनीतिक परिस्थितिमा एकचोटी फेरि त्यो ऐतिहासिक गाउँ सिक्लेसमा हामी जाँदै छौँ’, अध्यक्ष प्रचण्डले भने ।