सिक्लेस–कोरी केवुलकार, हिमालमा छुट्टै शहरको परिकल्पना

प्रकाश ढकाल
पोखरा, जेठ २७ ।
पर्यटकीय गाउँ सिक्लेसदेखि हिमालको फेदी कोरीसम्म केवुलकार चलाईने भएको छ । मादी गाउँपालिकाले कन्सल्ट्यान्टलाई लगाएर केवुलकार सञ्चालनका लागि प्रारम्भीक अध्ययन पूरा गरेको हो । प्रारम्भिक अध्ययनले केवुलकार सञ्चालन गर्न उपयुक्त र सम्भव देखिएको अध्ययन टोलिले जनाएको छ । क्युबिक इन्जिनियरिङ कन्सल्टेन्सीले ३ महिना लगाएर अध्ययन गरेको थियो ।

‘केवुलकार चलाउन सबै हिसावले सम्भव छ । प्राविधिक हिसावले कुनै अवरोध देखिँदैन, कन्सल्टेन्सीका निर्देशक दण्डराज पौडेलले भने–केवुलकार सहित स्केटिङको पनि बलियो सम्भावना छ । यसले मादी गाउँपालिकाको विकासे ढोका खुल्छ ।’ कोरीमा वर्षको ८ महिना हिउँ भइरहने र त्यहाँ निकै फराकिलो ठाउँ भएकाले स्केटिङको सम्भावना बलियो छ ।

केवुलकार चलेपछि दैनिक १ हजार २ सय जना आउजाउ गर्न सक्नेछन् भने बार्षिक ३६ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ

केवुलकार सञ्चालन गर्न १ अर्ब ५० करोड लाग्ने प्रारम्भिक अनुमान छ । साढे ६ किलोमिटर लामो केवुलकारका लागि २१ वटा केवल टावर राख्नुपर्नेछ । ‘केवुलकार चलेपछि दैनिक १ हजार २ सय जना आउजाउ गर्न सक्नेछन् । बार्षिक ३६ करोड रुपैयाँ आम्दानी हुने हाम्रो अनुमान छ, पौडेलले थपे–१० करोड रुपैयाँ बार्षिक खर्च भएपनि ५ बर्षभित्रै लगानी उठाउन सकिन्छ ।’ अध्ययन टोलिले विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नका लागि विज्ञ टोलि खटाउन सुझाव दिएको छ ।

पोखराबाट २ घण्टामा सिक्लेस पुगिन्छ । सिक्लेसदेखि १५ मिनेटको केवुलकार यात्रापछि हिउँमा रमाउन सकिने गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) बताउँछन् । चुनाव जित्नेवित्तिकै उनले केवुलकार चलाएर पर्यटन प्रवद्र्धन गर्ने घोषणा गरेका थिए । गाउँपालिकाले केवुलकार बनाउने योजना ल्याएपछि चिनियाँ कम्पनी लगानीका लागि ईच्छुक देखिएको छ । ‘पूर्व सम्भाब्यता अध्ययनलले पोजिटिभ निष्कर्ष निकालेको छ । हामी उत्साही छौं, उनले भने–लगानीका लागि विभिन्न कम्पनीहरुले ईच्छा जाहेर गरेका छन् । कुन मोडलमा निर्माण गर्ने भन्ने गाउँसभामा छलफल गरेर टुंग्याछौं ।’ सार्वजनिक निजी साझेदारीमा आयोजना निर्माण गर्ने उनको योजना छ । प्रदेश सरकारले पनि प्रदेश ४ भित्र ११ ठाउँमा केवुलकार चलाउने योजना ल्याएको छ । यसका लागि पहिलो चरणमा पूर्व सम्भाब्यता अध्ययनका लागि चालू बर्षमा खर्च हुनेगरी १५ लाख रुपैयाँ विनियोजन पनि भैसकेको छ । पोखरा लेखनाथ महानगरपालिकाले पनि गाउँपालिकासँग सहकार्य गरेर केवुलकार निर्माणमा सघाउने बचन दिएको अध्यक्ष गुरुङले बताए । केवुलकारलाई पहिलो पूर्वाधारको रुपमा लिएर थप पूर्वाधारहरु निर्माणका लागि पनि तत्कालै अध्ययन थाल्ने उनको भनाई छ ।

‘केवुलकार एउटा ढोका मात्रै हो । यही ढोकाबाट पसेर विकासका सम्भावना खोज्छौं, उनले थपे–वातावरण मैत्री होटल रेष्टुरेण्ट सञ्चालन, एडभेन्चर खेलको पनि छुट्टै प्याकेज बनाएर अध्ययन गर्छौं । स्केटिङ र प्याराग्लाईडिङको अधिक सम्भावना हामीले देखेका छौं ।’ केवुलकारको अन्तिम गन्तब्यपछि दायाँ–बायाँ कपुचे ताल र क्होंलासोंथर पर्छ । मनाङ छिर्ने नयाँ ट्रयाक पनि यही बाटोबाट छिचोल्न सकिन्छ । कोरी आसपासमा नयाँ शहर बसाउने परिकल्पनाका साथ काम सुरु गरेको गाउँपालिकाका अध्यक्ष गुरुङ सुनाउँछन् ।

सन् २०२२ सम्म् २० लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य छ ।

प्रदेश सरकारले पनि केवलुकार निर्माणमा पूर्ण सहयोग गर्ने जनाएको छ । अर्थमन्त्री किरण गुरुङले पर्यटन प्रवद्र्धन सरकारको पहिलो प्राथमिकतामा रहेको भन्दै पर्यटनसँग सम्बन्धित सबै पूर्वाधार निर्माणमा सरकारको पूर्ण साथ रहने बताए । सिक्लेस–कोरी केवुलकारको सम्भाब्यता अध्ययन प्रतिवेदन हेरेपछि उनले सरकारले लिएको लक्ष्य पूरा गर्न केवुलकार महत्वपूर्ण हुने बताए ।

‘२०२२ सम्म २० लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ । यस्ता खालका पूर्वाधार बनाउन सके पर्यटकको आकर्षण पनि बढ्छ, उनले भने–प्रदेश सकारको पूर्ण साथ रहन्छ । यसैका लागि लगानी सम्मेलन पनि आयोजना हुँदैछ ।’ मादी गाउँपालिकाको पर्यटनलाई गुरुयोजना सहित मेगा प्रोजेक्टको रुपमा अघि बढाईने गुरुङको भनाई छ । आगामी आर्थिक वर्षमा सरकारको कुल बजेटको ३५ देखि ४० प्रतिशत भौतिक पूर्वाधार निर्माणमै खर्च हुने भन्दै उनले केवुलकारका लागि पनि पर्याप्त बजेट विनियोजन हुने विश्वास ब्यक्त गरे ।