सिक्लेसी बाजेको प्रचण्डलाई प्रश्न–‘खै स्विजरल्याण्ड ?’

प्रकाश ढकाल
पोखरा, मंसिर १६ ।
‘किसिम गरायो नि बाबु यहाँ त । ठ्याम्मै ७५ जिल्लाका मान्छे आए । सबै बन्दोबस्त मैलै गर्देको हो । कसैको बाँस तानेर ल्याएँ, कसैको बोरै बोकेर ल्याएँ । कतिका त कम्मल हराए । वनका काठ काटेको जरिवाना गाउँलेले मलाई तिराए ।’ कास्की सिक्लेसका भद्रसिं गुरुङसँग तत्कालीन माओवादीका कार्यकर्ताले विठ्याईं गरेर गएपछि गाउँलेलाई तिरेको क्षतिपुर्तिको रसिद अझै सुरक्षित छ । भारतीय सेनाबाट रिटायर्ड भएर आएपछि उनको दैनिकी समाजसेवामा बितिरहेको थियो ।

उतिबेलै माओवादी आन्दोलन चरम उत्कर्षमा थियो । अलिअलि हुने खानेहरु गाउँमा बस्दैनथे । भद्रसिं चाहीँ गाउँको स्कुलमा शिक्षक अभिभावक संघको अध्यक्ष बनेका थिए । गाउँमा जानेबुझेकाहरु भाग्न थालेपछि हुलाक र गाविसको काम पनि उनैको काँधमा थियो । गाउँलेहरु माओवादीसँग निकै डराउँथे । सेनामा काम गरेर फर्केकाले होला, भद्रसिं चाहीँ अलि सुरो थिए ।

२०६२ साल जेठ अन्तिम साता । गाउँलेहरु बर्खाको खेती लाउने चटारोमा थिए । सिमसिम पानी परिरहेकै थियो । चारैतिर बादल डम्मै । माओवादीका कार्यकर्ताहरु पनि बाक्लै देखिन थाले । गाउँभरी गोलिगठ्ठा सहितका कार्यकर्ताहरु सल्बलाएको देखेपछि गाउँलेहरु अलि सशंकित थिए । गाउँमा माओवादीका ठूला मान्छे आउन लागेको कुरा गाईंगुई हुन थाल्यो । कार्यकर्ता भरिन थालेपछि घरबाट खासै निस्किएनन् सिक्लेसी । आँटिलो र माओवादीसँग हिमचिम भएकाहरु चाहीँ यताउति गर्थे ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेता बाबुराम भट्टराई शान्ति सम्झौताका लागि सिक्लेस जाने निधो गरेका रहेछन् । ठूला नेताहरु आउने सुनेपछि भद्रसिंले केही गाउँलेलाई लिएर फूलमाला सहित गाउँको पुछारमा झरे । सिक्लेस गाउँ छिर्ने बाटो धेरैतिरबाट छ । पूर्वतिरको गेटमा गाउँले कुरिरहेका थिए । तर नेताहरु पश्चिमतिरको गेटबाट उकालो लागे । हतारहतार गर्दै उनीहरु पश्चिमतिर गएर नेताहरुको स्वागत गरे । ‘मै मत्रै हो कोही आउँदैनथ्यो । सैनिकको तीनघेरा थिए । चिनेजानेको भएर होला मलाई आउजाउ गर्न सजिलो थियो, भद्रसिं भन्छन्–आउने वित्तिकै बख्खु र भांग्रा लगाईदिएँ । धेरै खुशी भए नेताहरु ।’

दराज फोडेर कागजपत्र जलाईदिएपछि कर्मचारी डरले शहर झरे । कर्मचारी भागेकै दिनदेखि एक्यापको कार्यालय रित्तै थियो । प्रचण्ड र बाबुराम त्यही घरमा बसे । ‘कार्यालयमा एउटा खाट थियो । दुईजना आएपछि अर्को खाट गाउँबाट खाजेर ल्याएँ–उनले भने ।’ प्रचण्ड र बाबुराम सिक्लेस पुगेको आठौं दिनमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला हेलिकोप्टर चढेर उनीहरुलाई भेट्न पुगे । लामो समय सम्बाद र बार्ता सफल भएपछि प्रचण्डले असार २ गते आफूँ सार्वजनिक भएको घोषणा गरे ।

‘अव तपाईंहरुले शासन चलाउने । तपाईं ठूलो मान्छे बन्नु । प्रधानमन्त्री बन्नु भनेर आसिक हालेर पठाएको थिएँ । दुवैले हुन्छ भनेर गएका हुन्, भद्रसिंले अघि सुनाए–दुईजनै प्रधानमन्त्री भए मत खुशी छु । तर हेलिकोप्टरमा उडेर गएपछि फर्किएर सिक्लेस आएनन् ।’ प्रचण्ड र बाबुरामले सिक्लेस छोडेको १३ बर्ष पुगिसक्यो । उनीहरुले नेपाललाई स्विजरल्याण्ड बनाउछु भनेको कुरा चाहीँ भद्रसिंले भुलेका छैनन् । ‘एक्यापको आडमा मञ्च बनाएको थियो । प्रचण्ड र बाबुरामले पालैपालो भाषण हाले । भाषण गर्ने बेलामा स्विजरल्याण्ड बनाउँछु भनेका थिए, उनी भन्छन्–अव भेटें भने खै स्विजरल्याण्ड भनेर सोध्छु ।’

सिक्लेसमा शान्ति स्तम्भ

प्रचण्ड सार्वजनिक भएकै ठाउँ सिक्लेसमा सरकारले शान्ति स्तम्भ बनाउन लागेको छ । ढिलै भएपनि सिक्लेस सम्झिएको भन्दै उनले सरकारलाई धन्यवाद दिएका छन् । गाउँपालिकाको १० लाख रुपैयाँ लागतमा शान्ती स्तम्भ निर्माण गर्न लागिएको मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले बताए । यसबाहेक स्थानीयले पनि थप १० प्रतिशत लगानी गरेका निर्माण समितिका अध्यक्ष दानबहादुर गुरुङले बताए । प्रचण्ड स्तम्भको अनावरण गर्न यही मंसिर २४ गते सिक्लेस आउने कार्यक्रम छ । स्तम्भमा यथास्थितिबादी शक्ति, संक्रमणकालीन शक्ति र क्रान्तिकारी शक्तिलाई मिलाउने प्रयास गरिएको मुर्तिकार नारद हार्तम्छाली कलाङले जानकारी दिए । ‘भुत, वर्तमान र भविष्य तीनवटै शक्तिलाई मिलाएर मुर्तिको डिजाईन गरिएको छ । त्यसकै आधारमा मुर्ति खोप्ने काम गरिरहेको छु, मुर्तिकार कलाङ भन्छन्–यो मुर्तिमा आध्यात्मिक र आधुनिक दुवै पक्षको विम्व छ ।’ मुर्ति निर्माण भैसकेपछि सिक्लेसमा पर्यटकको अर्को गन्तब्य थप हुने विश्वास लिएका छन् ।