सिक्लेसबाट प्रचण्डले भने–हामीसँग सबैथोक छ, तर गिरिजाबाबु हुनुहुन्न (शान्तिप्रक्रियाबारे उनको बक्तब्य पूरा पढ्नुस्)

पोखरा, मंसिर २४ ।
सिक्लेसमा हामी आउनुभन्दा अगाडी देशमा बडो सन्त्रासको स्थिति थियो । दिनदिनै को कहाँ कतिबेला मारिने हो भन्नेकुराको टुंगो थिएन । जताततै आतकं थियो । हिडडुल गर्न मान्छेलाई सहज थिएन । सहरबजार जाने या गाउँघर जाने भन्ने निकै कठिन थियो । देशमा निरंकुशताबादी शासकहरुले सम्पूर्ण शासनलाई अझै बढी निरंकुश बनाउने र नेपाली जनतालाई निरंकुशताको जाँतोमा अझै बढी पिसेर लिएर जाने दुष्प्रयास भएको थियो । त्यतिबेला निरंकुश शासकहरुले राष्ट्रसंघमा गएर नेपालमा आतंकवादले टाउको उठाईरहेको छ र त्यो आतंकबाद मैले मात्रै नियन्त्रण गर्न सक्दछु, संसदीय राजनीतिक दलहरु असफल भैसके, उनीहरुले केही पनि गर्न सक्दैन, आतंकबाद नियन्त्रण गर्ने मैले हो भनेर भन्न जाने राजनीतिक दलका नेताहरु चाहे नेपाली काँग्रेस चाहे त्यतिबेलाका एमाले लगायत ७ राजनीतिक दलका नेताहरु कोही भूमिगत, कोही नजरबन्दमा र कोही गिरफ्तारीमा परेको अवस्था थियो ।

म बाहिर थिएँ, विद्रोहको नेतृत्व मैले गरिराखेकै थिएँ । म आज के सम्झन चाहान्छु भने, मैले वार्ताको निम्ती, शान्ति बार्ता अव आवश्यक भयो भन्ने कुरा मैले पनि महशुस गरिसकेको थिएँ र मैले नेतृत्व गरेको पार्टीले पनि गरेको थियो । तर वार्ताका लागि वातावरण हुनु जरुरी थियो । र सकारात्मक वातावरण बनाउनका लागि एकतर्फी तीनमहिने युद्ध विराम घोषणा गरेको थिएँ ।

त्यसको उद्देश्य थियो, निरंकुश शासकहरुलाई राष्ट्रसंघमा जानबाट रोक्नु, राजनीतिक दलहरुलाई माओवादीसँग बार्ता गर्न सहज वातावरण बनाईदिनु अनि बार्ताको प्रक्रिया सुरु गर्नु थियो । त्यतिबेला पूरै संसारलाई डेमोक्रेटिक वर्ल्ड भनिन्छ त्यसलाई विश्वासमा लिन सक्ने, छिमेकीहरुले पनि पत्याएको, नेताहरुको पनि नेता हुन जरुरी थियो । यदी हुँदैनथ्यो भने शान्ति प्रक्रिया चाहेर पनि अगाडी जान सक्दैनथ्यो । त्यतिबेला ७ राजनीतिक दलका नेताहरुसँग पटक पटक मेरो भएका कुराहरु, तत्कालिन एमालेका माधवकुमार नेपाल र केपी ओली र मुख्य रुपमा काँग्रेसका नेता गिरिजाप्रसाद कोइराला ।

एउटा टावरिङ पर्सनालिटी भएको मान्छे, ८० बर्षको बुढा, राजनीतिमा सक्रिय, धेरै उतारचढाव भोगेको देखेको र संसारले पत्याएको, गिरिजाप्रसाद कोइराला भनेपछि सबैले चिनेको नेता, वहाँसँग मेरो भित्र गोप्य रुपमा पटकपटक कुराकानी भए । र दोश्रो भेट थियो, जतिबेला वहाँले छोटो रुपमा तपाईं शान्ति र लोकतन्त्रमा आउने हो कि होईन भन्नुभएको थियो । पहिलो भेटमा मैले भनेको थिएँ, गिरिजाबाबु तपाईं त मेरो पनि अभिभावक नै हुनुहुन्छ, तपाईं गणतन्त्रमा जाने हो कि होईन ? तपाईं गणतन्त्रमा जाने हो भने म शान्ति र लोकतन्त्रमा आउने हो त्यति भन्ने वित्तिकै हाम्रो कुरा मिलेको थियो । अहिले बाहिर भन्ने अवस्था छैन । जाने गणतन्त्रमै हो । तपाईं शान्ति र लोकतन्त्रमा आउने हो भने हामी गणतन्त्रमा आउँछौं भनेर वहाँले भन्नुभएको थियो । र गिरिजाप्रसाद कोइराला आँफै अगाडी सरेपछि ७ राजनीतिक दलको नेतृत्व गर्ने रुपमा अघि सरिसकेपछि, हाम्रा छिमेकीहरुले र संसारले पनि यद्यपी त्यतिबेला पनि पश्चिमका केही राष्ट्रहरु शान्ति प्रक्रियाको पक्षमा थिएनन्, यसलाई रोक्ने र विथोल्ने प्रयासमा थिए । तर छिमेकीहरुको साथ सहयोग पनि भएको र गिरिजाप्रसाद कोइरालाको नेतृत्व, माधव नेपाल केपी ओली लगायतका वामपन्थी नेताहरुको पनि सक्रिय सहभागिताको कारणले यो प्रक्रिया कसैले रोकेर रोकिएन अगाडी गयो ।

त्यसपछि संविधान निर्माण र कार्यान्वयनमा पनि उनै पात्रहरुको सक्रिय सहयोगका कारण सम्भव भयो । जसरी सिक्लेसमा गृहमन्त्रीको पद मात्रै दाउमा राखेर होईन । उस्तै परे ज्यान पनि जान सक्थ्यो कृष्णप्रसाद सिटौला जी को । हामी एउटा विशाल पंक्तिको घेराभित्र थियौं । हामीसँग अत्यधुनिक हतियारहरुको पूरै जटिरा थियो । त्यति धेरै हतियार हामीसँग थियो । थोरै गडबडी हुने वित्तिकै वहाँ मारिन पनि सक्नुहुन्थ्यो । तर वहाँले जोखिम उठाएर केही पनि नलिईकन एक्लै शेखर कोइराला एकजना लिएर आउनुभयो । र वहाँले त्यो साहस गिरिजाबाबुको आड भरोसामा लिनुभएको थियो । वहाँको आफ्नै बुझाई पनि निकै गहिरो गरि हामी शान्ति र लोकतन्त्रमा जानुपर्छ भन्ने बुझाईका कारण पनि यो सम्भव भएको थियो । र संविधान बनाउने बेलामा पनि कम अप्ठेरो थिएन । धेरै घेराबन्दी थिए । त्यतिबेला पनि मस्यौदा समितिको अध्यक्षको हैसियतले सिटौला जीको सक्रिय भूमिका त्यहाँ पनि रह्यो । जसका कारण हामी यहाँ छौं ।

यो मञ्च आज सिक्लेसमा मात्रै सुनिँदैन । नेपालभरी र संसारमा पनि सुनिन्छ । यो मञ्चबाट म के ध्यानाकर्षण गराउन चाहान्छु भने इतिहासमा ठूलाठूला राजनीतिक परिवर्तनहरु, क्रान्तिहरु हुन्छन् र तिनलाई सुदृढ गर्नका लागि परिवर्तन, आन्दोलन र क्रान्तिका पक्षधरहरु मरिमेटेर लाग्छन् । साथसाथै परिवर्तन विरोधीहरु, क्रान्तिका विरोधीहरु, निरंकुशताका पक्षधरहरु त्यसलाई उल्ट्याउन सकिन्छ कि भनेर दशौं विसौं बर्षसम्म पनि लगातार प्रयास गरिरहन्छन् । उनीहरुले कुनै न कुनै रुपमा फेरि उल्ट्याउने सपना देखिरहन्छन् । र कयौं देशका अनुभवनले के देखाएको छ भने यदी परिवर्तनकारी पार्टीहरु नेताहरु सजग सचेत भएनन भने र जनताहरुले आफ्नो सजगता र सक्रियता देखाएनन भने प्रतिक्रान्ति फेरि आउने, निरंकुशता फेरि आउने र निरंकुशताले फेरि जनतालाई पिस्ने गरेका इतिहास छन् ।

हामी अहिले पनि ढुक्क भएर बस्न सक्ने अवस्थामा पुगिसकेका छैनौं । मैले भन्न खोजेको कुरा यहाँनिर छ । गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न । त्यस्तो टावरिङ पर्सनालिटी भएको ब्यक्ति हामीसँग छैन । हामी छौं, हामीसँग दुई तिहाई बहुमत छ, सरकार छ, प्रदेश सरकार छ, स्थानीय सरकार पनि छ । औपचारिक ढंगले त हामीसँग सबै चिज छ । तर तपाईं हामी हेर्यौं भने तराई मधेशमा एकाथरि अझैपनि विखण्डनको सपना देखेर जनता भड्काउन लागिरहेका छन् । अर्कोतिर अतिवाद देशभित्र पहाडमा फैलाउन सकिन्छ कि भनेर हिजो दरबारबाट निकालिएका शक्तिहरु मलजल गरिराखेका छन् ।

र विभिन्न राजनीतिक दलभित्र म भन्छु नेपाली काँग्रेसभित्र हिजो शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको पार्टी, गिरिजाप्रसाद कोइराला र कृष्ण सिटौला जी सबैभन्दा सक्रिय । तर अहिले नेपाली काँग्रेसकै नेताहरु यो परिवर्तन प्रति नाखुस छन् । यो संविधानप्रति खुशी छैनन् मात्रै होईन बरु यो संविधानको विरुद्ध खुलेयाम बक्तब्य आउन थालेका छन् । मैले भन्ने गरेको छु, यो संविधानभित्र महत्वपूर्ण ४ वटा खम्बाहरु छन् । गणतन्त्रको खम्बा, संघीयताको खम्बा, धर्म निरपेक्षताको खम्बा र समावेशी समानताको खम्बा संविधान भित्र छ । यो मध्ये एउटा मात्रै खम्बा ढलाईदिने भने चारवटै खम्बा ढल्छन् र देशमा पुनः अराजकता, द्धन्द्ध र फेरि भयानक निरंकुशताको खतरा आउँछ । यसमा हामी सबै सचेत हुनुपर्नेछ । मैले अहिले नै आईहाल्न लाग्यो भन्न खोजेको होईन तर ठूलठूला क्रान्ति र परिवर्तनपछि प्रतिक्रान्ती र प्रतिक्रियाबादी शक्तिहरुले फेरि एकचोटी मुन्टो उठाउने प्रयास गर्छन् । २०१७ सालमा के भयो हामीलाई थाहा छ । २०४६ पनि २०५६/०५७ मा के भयो हामीलाई थाहा छ । अहिले पनि यसलाई उल्ट्याउन खोज्ने शक्तिहरु कहीँ न कहीँ सल्बलाउन सक्ने खतरा छ ।

त्यसो भएको हुनाले सिक्लेसको एउटा गाउँ, जहाँ शान्तिका लागि बडो खतरनाक खेल खेलिएको थियो । यसलाई नकरात्मक खेल भन्न खोजेको होईन । बडो सकारात्मक खेल । किनभने सिटौला जी ज्यान जोखिममा राखेर आउनुभएको थियो । जनमुक्ति सेनाको घेराभित्र आफ्नो सेना र पुलिस छोडेर । त्यो सानो कुरा थिएन । र हामी यहाँबाट सबै चिज छोडेर काठमाण्डौं गएका थियौं । बालुवाटारमा । त्यहाँ पनि कम जोखिम थिएन । बडो डरलाग्दो जोखिम मोलेर नै हामी यहाँसम्म आईपुगेका हौं । हामीले ति दिनहरु विर्सिएका छैनौं । निरंकुशताका ति दिनहरु विर्सिएका छैनौं, जसले सबै संसदीय दल देखि विद्रोही माओवादीलाई एउटै हाँडीमा राखेर भुटेर सिध्उाउन खोजेका थिए । अहिले निरंकुशताबादीहरु होटलहोटलमा हिडेका छन् अरे । के का लागि नाचेका हुन् ? गिरिजाबाबु जस्तो टावरिङ पर्सनालिटी नभएको भए काँग्रेसको बहुमतले गणतन्त्र स्विकाथ्र्यो कि स्विकार्दैनथ्यो ? मलाई के लाग्छ भने गिरिजाबाबु त हुनुहुन्न । सिटौला जीको पनि केही भयो भने मैले केही देखेको छैन ।

सिटौला जी यो गणतन्त्र ल्याउन, संविधान बनाउनका लागि खम्बा भएर उभिनुभयो । मलाई भरोसा छ, हामीले यो षड्यन्त्र जो हुन खोज्दैछ, अतिबादी शक्तिहरु छन् हामी त्यसको विरुद्धमा एकजुट छौं । हामी परिवर्तनका पक्षधर, १२ बुँदेका पक्षधर, जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्ने पक्षका शक्तिहरु हामी सात राजनीतिक दल, तत्कालीन विद्रोही शक्ति र नेपाली जनताहरु जसले मिलेर यो परिवर्तन ल्याएका हौं, फेरि एकपटक एकताबद्ध भएर त्यस्ता शक्तिहरुको परास्त गर्ने र विकास निर्माणको एउटा नयाँ गति दिएर समाजलाई सामाजिक न्याय सहितको विकास तिर लगेर प्रतिवाद गर्नुछ । सरकारलाई अझै प्रभावकारी बनाउने र विकासलाई गति दिनका लागि प्रधानमन्त्री जी, म र शेरबहादुर जी समेत बसेर एउटा समझदारी गरेका छौं । झापामा गिरिजाबाबुको नाममा निर्माण हुन लागेको सभागृहको काम अगाडी बढ्छ । म विश्वास दिलाउन चाहान्छु । र अन्त्यमा न्यानो आतिथ्यताप्रति सिक्लेसका सम्पूर्ण दाजुभाइ दिदीबहिनी, बुबाआमाहरुलाई धन्यवाद ब्यक्त गर्दै विदा हुन्छु धन्यवाद । नमस्कार ।

(मादी गाउँपालिकाले सिक्लेसमा निर्माण गरेको शान्ति स्तम्भ उद्घाटन समारोहलाई सम्बोधन गर्दाको बक्तब्यको पछिल्लो अंश ।)