साहसीका लागि क्यानोनिङ, पर्यटकको नयाँ गन्तब्य

उमा आलेमगर

पोखरा, बैशाख १३ ।

पोखरा, सुन्दरताको पर्याय । संसारले पोखरालाई ताल र हिमालसँग जोडेर चिन्छ । नभए प्याराग्लाईडिङ, जीप फ्लायर र अन्य सुन्दर प्रकृतिलाई सम्झन्छ । नेपाल छिरेपछि पोखरा नआउने विदेशी अनुहार सायदै होला ।

अचेल हरेक बर्षजसो पोखरा घुम्नेका लागि नयाँ फिचर थपिन्छ । ताल तलैया, प्याराग्लाईडिङ, गुफा र झरनालाई पहिलेदेखि हेरिरहेका पर्यटकको गन्तब्य अहिले थपिएको छ । केहीबर्षदेखि सुरु भएको क्यानोनिङ खेल नयाँ फिचर हो, पोखराका लागि । डोरीमा झुण्डिएर छाँगाबाट झर्नु क्यानोनिङ हो ।

झट्टसुन्दा कठिन लागेपनि क्यानोनिङ गर्दाको आनन्द अपूर्व छ । साहस हुनेले आफैँ झरनाको शिरबाट डोरीमा झुण्डिएर तिरसम्म झर्छन् । साहस नहुने चाहीँ हेरेर पनि रमाउछन् । चिप्ला ढुङ्गाका चट्टान भएर झर्ने छाँगामा पानीको फोहोरा, जसलाई बेला–बेलामा हावाले यतायती डुलाउँदा देखिने दृष्य, बयान गरिसाध्य छैन ।

पोखराबाट नजिकै ल्वाङ घलेलको कुदी छहरामा क्यानोनिङको मजा लिन पाइन्छ । स्थानीय युवा ब्यवसायी राम गुरुङले २०७१ बैशाखमा पर्यटकलाई गाउँ बोलाउन क्यानोनिङ भित्रयाएका हुन् । क्यानोनिङकै कारण पछिल्लो समय पर्यटकको आगमन पनि बढ्न थालेको गुरुङ बताउँछन् । क्यानोनिङ साहसीक खेल भएकाले सबै उमेरका मानिसहरुले खेल्न सक्दैनन् । ‘अग्लो छहरामा पानीसँगै झर्नुपर्दा आत्मवल अलि बलियो हुनुपर्छ । जोखिम खासै नभएपनि साहस नहुनेले खेल्न सक्दैनन्, उनी भन्छन्–क्यानोनिङ सुनेर आएकाहरु कहिलेकाहीँ डराएर फर्किएका पनि छन् । तर क्यानोनिङ गरिसकेपछि धेरैको प्रतिक्रिया राम्रो हुन्छ ।’

अचेलभरी कास्कीमा यो खेलको विस्तार निकै हुन थालेको छ । विरेठाँटी र ल्वाङमा पनि क्यानोनिङ सुरु भैसकेको छ । यद्यपी कुदीखोलाको पोखरा क्यानोनिङ कास्कीका लागि सबैभन्दा पहिलो हो । पोखराबाट २० किलोमिटर उत्तरपुर्वी गाउँमा पर्ने पोखरा क्यानोनिङ आधा करोड लगानी गरेर सञ्चालनमा ल्याईएको हो ।

क्यानोनिङ गर्दा एक नेपालीले २ हजार रुपैयाँ तिर्नुपर्छ । पोखराबाट आतेजाते र खाना तथा खाजा खाने सुविधा चाहिए ४ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने सञ्चालक गुरुङले बताए । विदेशी पर्यटकलाई चाहीँ ३५, ५५ र ६५ अमेरिकी डलर तिर्नुपर्छ । नेपालमा सन् २००७ देखि मात्रै यो खेलको सुरुवात भएको हो । पछिल्लो समय दैनिक नेपाली तथा विदेशी क्यानोनिङ खेल्नको लागि आाउने गरेका छन् ।

यस क्षेत्रमा क्यानोनिङका लागि आवश्यक गाईडको ब्यवस्था गरिएको छ । सुरुमा यस खेलको बारेमा जानकारी नभएपनि पछिल्लो समय मानिसहरुले चासो राखेकोले पोखरा र नेपालका अन्य क्षेत्रमा यो खेलको आर्कर्षण र सम्भावना देखिएको छ । लमजुङ, मनाङ, सिन्धुपाल्चोकको भोटेकोसी, नुवाकोटको ककनी, काभ्रेमा पनि क्यानोनिङ खेलको सुविधा छ । सरकारले क्यानोनिङलाई खेल पर्यटनको रुपमा विकास गर्नुपर्ने पोखरा क्यानोनिङका सञ्चालक गुरुङको सुझाव छ ।