सावधान, काठमाण्डौंमा समातिए घुस दिने पनि !

काठमाण्डौं, मंसिर २६ ।
नेपालको प्रचलित कानुनले ‘घुस लिनु र दिनुलाई’ अपराध मानेको छ तर, व्यवहारमा भने यो लागू हुन सकेको छैन । जहिले पनि घुस दिने होइन, लिनेहरूमात्र पक्राउ पर्ने गरेका छन् तर महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने घुस लिनेलाई मात्र होइन दिनेलाई समेत कारवाही गर्ने गरेको छ ।

महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले घुस लिने ट्राफिक प्रहरीका साथै घुस दिने व्यक्ति (चालक) खराव देखिएकाले कारवाही चलाइएको बताए । महाशाखाका अनुसार साउन महिना यता सातजना चालकलाई कारवाही गरिएको छ । ट्राफिक नियम उल्लङ्घनको कारवाही गर्दा एकसयदेखि एकहजार रुपियाँसम्म घुस दिँदै गरेको अवस्थामा ती चालक कारवाहीमा परेका हुन् ।

पृथ्वीनारायण शाहले आफ्नो दिब्य उपदेशमा ‘घुस लिन्या र दिन्या दुबैलाई देशका शत्रु’ भनेको छन् । घुस दिने व्यक्तिलाई कारवाही नगर्दा ट्राफिक प्रहरीमा घुस लिने समस्या झन् फष्टाउने चुनौती देखिएको उनले बताए ।

‘घुस लिने ट्राफिक प्रहरीलाई त कारवाही हुन्छ नै तर दिने व्यक्तिलाई उन्मुक्ति दिँदा अर्को ट्राफिक कारवाहीको भागिदार बन्छ ’ उनले थपे,‘ घुस दिने व्यक्ति कानुनको परिपालना भन्दा घुस दिएर उन्मुक्ति पाउन उद्दत हुन्छ । त्यसैले दुबैलाई कारवाही गरेका हौँ ।’

गोरखापत्र दैनिक लेख्छघुस लिने र दिने दुबैलाई कारवाही गर्दा ट्राफिक प्रहरीमा मौलाउदै गएको ‘घुस’ खाने समस्या आफैँ हटेर जाने अपेक्षा गरिएको छ ।