सालीको मायाजालमा फसेपछि श्रीमतिको हत्या (घटना विवरण सहित)

पोखरा, साउन १ ।
पोखरा रामबजारमा बस्दै आएकी २७ बर्षिया लक्ष्मी नेपालीको हत्या भयो । तर एकमहिनासम्म घटना गुपचुप भयो । अहिले आएर पत्ता लाग्यो, उनको हत्या योजना आफ्नै श्रीमानले बुनेका रहेछन् । उनको हत्या आरोपमा प्रहरीले पति रमेश नेपाली सहित ४ जनालाई पक्राउ गरेको छ ।

सालीको मायामा परेका रमेशले पत्नीलाई पन्छाउन हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । एक वर्षदेखि साली अनु परियारसँग माया बढ्दै गएपछि अपराध गरेको खुलेको हो । साली अनुले आफूसँग सम्बन्ध राखिराख्ने भए दिदीलाई पन्छाउनु भनेपछि रमेशले साथीहरुको सहयोगमा भारतीय नागरिक लगाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

लक्ष्मी गत असार १ गतेदेखि हराइरहेकी थिइन् । रमेशले पत्नीको हत्या गरेपछि जंगलमा फालेर असार २ गते खोजीका लागि भन्दै प्रहरीकहाँ निवेदन दिएका थिए । असार १ गते २७ वर्षीया लक्ष्मी नेपाली कालिका चोकबाट हराएकी थिइन् । हराएको २५ दिनपछि उनको शव पोखरा महानगरपालिका २२ स्थित जङ्गलमा फेला परेको थियो ।

पतिमाथि नै शंका लागेपछि प्रहरीले अनुसन्धान केन्द्रित गर्यो । असार २५ गते नियन्त्रणमा लिएर सोधपुछ गर्दा रमेशले लक्ष्मीलाई मारेको स्विकारे । उनले नै प्रहरीलाई घटनास्थल देखाएका थिए । सालीभेनाको सम्बन्ध लक्ष्मीले थाहा पाएपछि अनुले नै दिदीलाई मार्न दवाव दिएकी थिईन् ।

रमेशले आफू र सालीले मात्र लक्ष्मीको हत्या गर्न नसक्ने भएपछि नजिकको साथी सञ्जय शर्मालाई योजना बताए । उनीहरुको सम्बन्धबारे सञ्जयलाई पहिल्यै जानकारी थियो । सञ्जयले रमेशको योजनामा साथ दिए । १० लाखमा भारतीय किलर मगाए । सर्लाहीको ईश्वरपुर नगरपालिका ३ तीनघरियाका चितनरन्जन साहलाई पनि सामेल गराए ।

साह पोखराको पृथ्वी चोकमा मोबाइल पसल सञ्चालन गर्छन् । साहले नै रमेशलाई पत्नीको हत्या गर्न भारतबाट किलर झिकाउन सहयोग गरेका थिए । उनीहरुकै योजना अनुसार गत जेठ ३० गते भारतबाट ३ जना किलर पोखरा आइपुगे । उनीहरुलाई साहले पृथ्वीचोकको कोसी होटलमा खान बस्न बन्दोबस्त मिलाएका थिए ।

होटलमा उनीहरुले कुनै पनि रजिस्ट्रेशन भरेका छैनन् । रमेश र साहको पूर्व सम्झौता अनुसार अग्रिम एक लाख रमेशले साहलाई लक्ष्मीको हत्या गर्ने बैना बुझाए । त्यसको भोलीपल्ट तीन भारतीय, रमेश, सञ्जय र तिरन्जन भएर जंगलमा हत्या गर्ने उपयुक्त ठाउँको खोजीमा निस्के । उनीहरुले ठाउँ पनि पहिचान गरे कर्कलेको जंगल ।

असार १ गते पोखराको हल्लन चोकबाट ग ११ प ८००३ स्कुटर भाडामा लिए । कार पनि भाडामा लिन नयाँ बजार पुगे । ग १ च २३६३ नम्बरको कार भाडामा लिई कोसी होटल पुगेको अनुसन्धानमा देखिन्छ । कार सञ्जयले चलाए । होटलबाट तीनजना भारतीय र चितरन्जन साहलाई हालेर कर्कलेको जंगलमा गए ।

लक्ष्मीलाई जंगलमा लैजान रमेशले ठुलै नाटक गरे । लक्ष्मीको खुट्टामा लामो समयदेखि एलर्जीले समस्या थियो । त्यही एलर्जी ठीक पार्ने औषधि खोज्न जंगल जाने भनेर फकाए । त्यसपछि कर्कलेको जंगलमा गए । दुवैले केही समय जडीबुटी खोज्ने काम गरे । जडीबुटी खोजिरहेको बेला योजनाअनुसार जंगल पुगेका भारतीयले मुख र आँखा छोपेर चक्कुले लक्ष्मीको घाँटी रेटेर हत्या गरे । हत्या गरे लगत्तै रमेशले सञ्जयलाई बाटोमा पाँच लाख रुपैयाँ थपिदिए ।

श्रीमतीको शव जंगलमै छोडेर हिँडे । हत्या भएको दिन पाँच लाख र बाँकी ४ लाख केही दिनपछि दिने कुरा भएको अनुसन्धानमा खुलेको छ । प्रहरीले रमेश, गोरखाको गण्डकी गाउँपालिका ७ घ्याल्चोक निवासी साली अनु, भोजपुरका सञ्जय शर्मा र सर्लाहीका चितरञ्जनलाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरी प्रमुख एसपी कार्कीले हत्याबारे थप अनुसन्धान जारी रहेको बताए । भारतीय कन्ट्रयाक किलर भने फरार छन् ।