सामाजिक परिचालक आन्दोलित

पोखरा, साउन २१ ।
गण्डकी प्रदेशमा कार्यरत सामाजिक परिचालकहरु आन्दोलित भएका छन् । उनीहरुको असार मसान्तपछि म्याद सकिएको छ । तत्काल पुनर्वहालीको माग गर्दै उनीहरुले माग पूरा नभए संघर्षका कार्यक्रम गर्ने बताएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरी सामाजिक परिचालकहरुले तीनबुँदे माग अघि सारे । नेपाल सकारको सम्पूर्ण सेवा सुविधा उपलब्ध गराई तत्काललाई कार्यालय सहायक पदमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताको आधारमा एक पटक उमेरको हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नुपर्नै उनीहरुको माग छ ।

माग पूरा नभए आइतबारदेखि रिले अनसन सुरु गर्ने उनीहरुको चेतावनी छ । ‘सबै सामाजिक परिचालकसँग क्षमता छ । सरकारी कर्मचारी सरह काम गर्न सक्छन्, नेपाल समाजिक परिचालक संघका केन्द्रिय महासचिव तेजप्रसाद शर्माले भने–कि कर्मचारी राख्दैनौ भन्नुप¥यो नभए क्षमतावान सामाजिक परिचालकलाई हटाएर अरु कर्मचारी भर्ती गर्न पाईंदैन ।’ उनले केही स्थानीय तहहरुले सामाजिक परिचालकलाई पुनः म्याद थप गरिदिएको भन्दै देशभर म्याद थप हुनुपर्ने माग राखे ।

गण्डकी प्रदेशका अध्यक्ष पिताम्बर नेपाली पनि माग पूरा नभए मुख्यमन्त्रीको कार्यालय र संसद भवनमा रिले अनसन बस्ने बताउँछन् । सुरुमा शान्तिपूर्ण आन्दोलन गर्ने हो । हाम्रा माग नसुनिए रिले अनसन देखि आमरण अनसन बस्छौं, उनी भन्छन्–सरकार जिम्मेवार हुनैपर्छ । सामाजिक परिचालकको म्याद थप हुनैपर्छ ।’ यसअघि पुस १६ गतेदेखि सरकारले सामाजिक परिचालक हटाउने निर्णय गरेपछि निरन्तर आन्दोलन गरेर चैतपछि असार मसान्तसम्म म्याद थप गरिएको हो ।

अहिले पनि सरकारले स्थानीय श्रोतबाट सामाजिक परिचालक नियुक्त गर्न सक्ने परिपत्र स्थानीय तहमा पठाएको छ । त्यसकै आधारमा सामाजिक परिचालकहरु आन्दोलित भएका हुन् । उनीहरुले राजनीतिक आस्थाका आधारमा सामाजिक परिचालकमाथी विभेद भएको गुनासो गरे । गण्डकी प्रदेशमा ४ सय ८५ जना सामाजिक परिचालकहरु छन् । सबैले आइतबारदेखि पोखरा केन्द्रित आन्दोलन गर्ने तयारी गरिरहेको सामाजिक परिचालक संघ गण्डकीकी सचिव भावना श्रेष्ठले जानकारी दिईन् । उनका अनुसार माग पूरा गराउन सरिता केसी भट्टराईको संयोजकत्वमा संघर्ष समिति नै गठन भएको छ ।