सामाजिक परिचालकमाथी सरकारको ज्यादती

पोखरा, बैशाख २५ ।
लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । महानगरको गेट अगाडी प्रदर्शन गर्ने तयारी गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । ‘भर्खर जम्मा हुँदै थियौं । ब्यानर फुकाउन खोज्दा खोज्दै प्रहरी जम्मा भएर पक्राउ गरे, सामाजिक परिचालक कमला खनालले भनिन्–शान्तिपूर्ण आन्दोलन गर्न पाउने गणतान्त्रीक ब्यवस्थामा हामीमाथी धरपकड भयो ।’

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली र नगरप्रहरी समेतको उपस्थीतिमा सामाजिक परिचालकहरु पक्राउ गरेका हुन् । जायज माग सुनुवाई नगरेर स्थानीय सरकारले क्रुरता प्रदर्शन गरेको उनीहरु बताउँछन् । २० दिनदेखि सामाजिक परिचालकहरुले पोखरा महानगरको गेटमा नाराबाजी सहित दिनहुँजसो प्रदर्शन गरिरहेका छन् ।

स्कीमा ७७ जना सामाजिक परिचालक छन् भने महानगरभित्र मात्रै ४७ जना छन् । उनीहरुलाई कुनैपनि हालतमा नियुक्ती नदिने महानगरका मेयर मानबहादुर जिसीले बताए । कर्मचारी रिक्त नरहेको र थप कर्मचारी समेत आवश्यक नभएको भन्दै उनले नियुक्ति दिन सक्ने अवस्था नरहेको उल्लेख गरे । सरकारले चाहीँ सामाजिक परिचालकका लागि आवश्यक तलव अर्थ मन्त्रालयबाट ब्यवस्था हुने भन्दै तत्काल नियुक्ति दिन निर्देशन पठाएको थियो ।