सामाजिक कार्यकर्ताको मन्त्री यात्रा

पोखरा, फागुन ५ ।
२०१९ साल फागुन ३ गते तनहुँको आँवुखैरेनी गाउँपालिका (तत्कालीन आँवुखैरेनी गाविस) मा जन्मिएका हरिबहादुर चुमान २०३६ सालका कम्युनिष्ट कार्यकर्ता हुन् । पञ्चायतको विरोधमा होमिएका उनै चुमान बहुदल हुँदै लोकतन्त्रदेखि गणतन्त्रसम्म आईपुग्दा विभिन्न चरण छिचोलेर प्रदेश सरकारको (आन्तरिक मामिला तथा कानुन) गृहमन्त्री बनेका छन् । नेपाल कम्युनिष्ट पार्टी चौमवाट राजनीतिक यात्रा सुरु गरेका उनले मोटो मसाल, एकताकेन्द्र हुँदै माओवादीको यात्रामा सामेल भए । २०४९ सालमा उनी पहिलोपटक एकता केन्द्रको जिल्ला सदस्य वनेका थिए । माओवादीले २०५२ मा सुरु गरेको जनयुद्धको पहलकर्ता उनले जिल्ला सचिवालय सदस्य हुँदै २०५८ मा तत्कालीन नेकपा माओवादीको तनहुँ जिल्ला ईन्चार्जको भूमीका पूरा गरेका छन् । राजनीतिमा लाग्दाताका नै उनी शिक्षण पनि गर्थे । शिक्षणले घरायसी खर्च चलाउँथ्यो भने राजनीतिक यात्रामा पनि सघाउँथ्यो । कम्युनिष्ट भएकै कारण उनी पढाउँदा पनि तत्कालिन पञ्चायतको कडा निगरानीमा थिए ।
एकातिर शिक्षक र अर्कोतीर सामाजिक कार्यकर्ताको रुपमा आँफूलाई अगाडी बढाउदै उनले २०४९ सालदेखी पार्टीको पुर्णकालीन कार्यकर्ताका रुपमा सामेल गराए । उनी माओवादी फुट्दा बैद्यतिर लागेका थिए । २०६८ देखि बैद्य नेतृत्वको माओवादीमा काम गरेका उनी २०७३ मा पार्टी धु्रवीकरण हुँदा रामबहादुर थापा (बादल) को नेतृत्वमा पुनः माओवादी छिरेका थिए । उनै चुमान हाल तनहूँ क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट निर्वाचित भई आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्रीको रुपमा नियुक्त भएका हुन् ।