सांसद विन्दुकुमार थापाका १५ महिना–प्रदेशको न्वारन, सुविधाजति समाजसेवामा

पोखरा, चैत १८ ।
देश संघीय संरचनामा छ । ७ वटा प्रदेश, ७ सय ५३ वटा स्थानीय सरकार र केन्द्रमा संघ सरकार । प्रदेश सरकार बनेको १४ महिना पूरा भयो । ४ वटा प्रदेशको अहिलेसम्म पनि नामाकरण भएको छैन । आफ्नो नाम राख्ने गण्डकी चाहीँ दोश्रो प्रदेश हो । स्थायी राजधानीमा खासै विवाद नरहेको यो प्रदेशमा नामको बहस भने निकै पेचियो बन्यो ।

पोखरा भुगोल र सुगमताका कारण केन्द्रमा छ । त्यसैले सर्वसम्मत सांसदहरुले पोखरालाई गण्डकी प्रदेशको निर्विकल्प राजधानी बनाए । तर विभिन्न जातजातिको बसोबास र बहुल ऐतिहासिक थलोहरु, प्राकृतिक पहिचान गण्डकी प्रदेशभित्र छन् । बहुल बासिन्दा, धार्मिक धरोहर, प्रकृति र इतिहास नै कुनैपनि ठाउँको पहिचान बन्छ र नामको हकदार पनि यिनै बिषयहरु हुन् ।

सबै पक्षहरु यो प्रदेशको नाम राख्न योग्य र उत्तिकै दावेदार पनि थिए, सर्व स्विकार्य भने बनेन । लामो छलफल र बहसपछि अधिक स्विकार गरिएको नाम जुर्यो–गण्डकी प्रदेश । दर्जनभन्दा बढी सुझाव र प्रश्तावभित्र धेरैको पहिचान अट्ने गरी यो प्रदेशको नामाकरण गरिएको छ । यसको श्रेय प्रदेशका सबै सांसदहरुलाई जान्छ नै । यसमा महत्वपूर्ण योगदान थियो, संसदले गठन गरेको प्रदेश नामांकन तथा स्थायी राजधानी सिफारिस समितिको । त्यसको संयोजक थिए, कास्की क्षेत्र नम्बर २ (ख) का निर्वाचित सांसद विन्दुकुमार थापा ।

उनको यो समितिले गएको असार २२ गते ठूलो जटिलता र महत्वपूर्ण जिम्मेवारी पूरा गरेको छ । सोमबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले भने–‘१, २, ३ र ५ नम्बर प्रदेशमा नाम र स्थायी राजधानीको ठूलो तनाव छ । हामीले एकबर्ष अघि नै सफलता पूर्वक सम्पन्न गरिसक्यौं । संयोजकको नाताले सबै सहयोगीलाई धन्यवाद ।’ प्रदेशसभा सांसदको १५ महिने कार्यकालमा उनले संसदभित्रका विभिन्न समितिमा बसेर काम गरे ।

सार्वजनिक लेखा समिति अन्तर्गत गठित मस्यौदा निर्माण उपसमितिको संयोजक भएर उनले मस्यौदा बनाउने काम पनि पूरा गरे । थापा फेवाताल संरक्षण गर्न गठित एक्सन कमिटिको सदस्य पनि छन् । यो काम भने हुँदैछ ।

ब्यापारिक पृष्ठभूमीबाट राजनीतिमा छिरेका थापाले चुनावताका नै भनेका थिए–‘राज्यबाट आउने सबै सेवा सुविधा म सामाजिक कार्यमा खर्च गर्नेछु ।’ उनले अघिल्लो बर्षको माघदेखि हालसम्म प्राप्त ७ लाख ९ हजार रुपैयाँको खर्च फेहरिस्थ सोमबार पत्रकारमाझ सार्वजनिक गरे । ‘तलव र अन्य सुविधामा मैले अहिलेसम्म ७ लाख ९ हजार १ सय ३५ रुपैयाँ पाएको छु । १० लाख ५४ हजार रुपैयाँ सामाजिक क्षेत्रमा सहयोग गरेको रहेछु, उनले भने ।’ उनले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न विकास निर्माण र सामाजिक संस्थागरी २२ वटा योजनामा यो रकम सहयोग गरेका हुन् ।

आफु निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रमा संघ र प्रदेशबाट प्राप्त विकास आयोजना र त्यसको निर्माण अवस्थाबारे पनि पत्रकारहरुलाई जानकारी गराए । पोखरा महानगरको ६ वटा सम्मिलित निर्वाचन क्षेत्रको समानुपातिक विकासको लागि विशेष जोड रहेको र विकास वडाहरुलाई विकासको मुलधारमा ल्याउन पहल गरिरहेको उनी बताउँछन् । ‘पोखराका ११, १६ र २० नम्बर वडाका अधिकांश ठाउँ विकट छन् । यि वडामा विकासका पूर्वाधार खासै पुगेका छैनन्, उनले भने–सवै वडाको समानुपातिक विकासमा मेरो विशेष जोड छ । त्यसैले प्रदेशको मुख्य आयोजनाको रुपमा रहेको एक निर्वाचन क्षेत्र एक नमुना सडक कार्यक्रम यीनै तीन वडामा केन्द्रित गरेको छु ।’

मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम पनि पोखरा १६ को जुम्लेटी क्षेत्रमा सञ्चालन गरिएको उनले सुनाए । संघीय संरचनाको निर्वाचन पछि कास्की २ (ख) मा २२ वटा ठूला तथा मझौला विकास आयोजना छनौट र कार्यान्वयनको चरणमा रहेको सांसद थापाले बताए । सडक, कृषि, आकासे पुल, स्कुल तथा क्याम्पसको पूर्वाधार तथा शैक्षिक गुणस्तर बृद्धी र पर्यटन विकासका योजनाहरुमा काम भैरहेको उनले सुनाए ।

थापाका अनुसार यो अवधीमा प्रदेशबाट ५ करोड ७६ लाख र संघबाट २ करोड १५ लाख गरी करिब ८ करोड रुपैयाँका विकासे काम भएका छन् । अधिकांश आयोजना निर्माणको चरणमा रहेको र सकेसम्म चालू आर्थिक बर्षभित्रै सक्ने गरी उपभोक्ता समिति र ठेकेदारहरुसँग समन्वय भैरहेको उनी बताउँछन् । सरकारले राजनीतिक प्रभावमा परेर काम गरेको आरोप लगाउँदै थापाले आँफुले चाहीँ कुनै पूर्वाग्रह नराखी सर्वदलीय बैठकबाट योजना छनौट गरेको दावी गरे । नेपाल प्रेस यूनियन कास्कीको आयोजनामा कार्यक्रम भएको हो ।