सांसद मनाङे नेकपा प्रवेश गर्दै

पोखरा, असार १८ ।
दीपक मनाङेका नामले चर्चित गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् । उनका स्वकीय सचिव जगदीश नाथ योगीले यसको पुष्टि गरेका छन् । मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले बिहीबार पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवार मनाङेलाई प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेले साथ दिएको थियो । त्यसो त मनाङे साविकको एमालेबाट नै उम्मेदवार बन्न खोजेका थिए । तर, त्यतिबेला चर्को विरोध भएपछि मनाङेले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् ।

एमालेले आफूले उठाएको उम्मेदवार खण्डा लामा गुरुङलाई उठायो । स्वतन्त्र उम्मेदवारी दिए पनि खण्डालाई फिर्ता गराएर मनाङेलाई नै आधिकारीक उम्मेदवार बनाउने एमालेको तयारी थियो । नातामा दिदीभाई पर्ने खण्डाले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि एमाले पंक्तिले नै मनाङेलाई समर्थन गरेको थियो ।

निर्वाचित भएपछि पनि उनले लामो समय सपथ लिन पाएनन् । १६ महिनापछि माघ १४ गते सपथ लिएका हुन् । उनलाई सपथग्रहण गराउने बेलामा नै नेकपामा प्रवेश गर्ने हल्लासमेत चलेको थियो । तर, त्यतिबेला मौन देखिएको नेकपाले अन्नतः बिहिबार उनलाई पार्टी प्रवेश गराउने भएको छ ।

मनाङे नेकपा प्रवेशसँगै गण्डकी प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत पुग्नेछ । हाल प्रदेशसभामा नेकपाका ३९, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २ (एकजनाको निधन भएको), समाजवादी पार्टी (नयाँ शक्ति) २ र स्वतन्त्र सांसद १ जना रहेका छन् । मनाङे प्रदेशको अर्थ तथा विकास समितिको सदस्य समेत हुन् ।

सांसद गुरुङले नेकपा प्रबेश गर्न लागेको बताए । ‘अरु कुनै डिमाण्ड लिएर जान लागेको होईन । बिचार मिलेपछि सहकार्य हुन्छ,’ उनले डिएनएसँग भने, ‘केही सहमती छैन । बजेटको काम सकियो । हामी फ्रि छौं । अव प्रबेश गरौं भनेर लागेको हो ।’