सांसदको बजेट सडक र स्कुलमा

पोखरा, मंसिर ५ ।
सांसद विकास कोषको बजेट आउने वित्तिकै सुरु हुन्छ कुन बाटो बनाउने र कुन स्कुलमा खर्च गर्ने ? यो नेपालमा पूरानो रोग हो । अधिकांश सांसदले आफ्नो भागमा परेको बजेट सडक निर्माण र स्कुलको भवन बनाउने नाममा खर्च गरिसक्छन् ।

बजेटको आधा हिस्सा सडक पुर्वाधार निर्माणमा खर्च गर्ने गरी प्रतिनिधि सभाका सदस्य खगराज अधिकारीले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट सार्वजनिक गरेका छन् । विगतमा सांसद विकास कोष मार्फत आउने बजेट यो वर्षदेखि स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत चार करोड रुपैयाँ विभिन्न २० शीर्षकमा खर्च गर्ने गरी उनले सार्वजनिक गरेका हुन् । कास्की क्षेत्र नं १ बाट अधिकारी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

सार्वजनिक गरिएको २० वटा शीर्षक मध्ये ६ वटा सडक पुर्वाधार निर्माणमा खर्च गर्ने गरी आधा बजेट छुट्टाइएको छ । सांसद अधिकारीले मंगलबार विनियोजन बजेट सार्वजनिक गर्दै रामकोट रामादी सडक पुर्वाधार निर्माणमा एक करोड रुपैयाँ विनियोजन गरेका छन् । मादी गाउँपालिका १ स्थित सम्पदामार्ग, ताङतिङ, क्होलासोथर सडकको लागि समेत ७० लाख रुपैयाँ छुट्टाएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

क्होलासोथार आदिबासी समुदायको उदगम थलोको रुपमा परिचित छ । पर्यटकीय गन्तव्य रुपमा विकास गर्ने उद्देश्यसहित सडक सञ्जालको पहुँच पुर्याउने अधिकारीले बजेट छुट्टाएको स्पष्ट पारे । उनले सडककै पुर्वाधार अन्तर्गत पोखरा महागनरपालिका १२ ढिकालेथर शिवमार्ग सडकको लागि १० लाख, लेखनाथ शिशुवा आर्दशचोक सडकको लागि १५ लाख, कदम मार्गलाई १० लाख, विजयपुर सुनपदेली सुर्के मैदान सडक सञ्जाल निर्माण गर्न १० लाख रुपैयाँ बजेट उपलब्ध गराएका छन् । सडक पुर्वाधारको लागि रुपा गाँउपालिकाले दुई करोड रुपैयाँ वडास्तरीय बजेट छुट्टाईसकेको छ ।

संसाद अधिकारीले ८ वटा विद्यालयको लागि समेत बजेट उपलब्ध गराएका छन् । विद्यालयको भौतिक पुर्वाधार निर्माण गर्ने गरी ती विद्यालयलाई बजेट दिईएको उनले सुनाए । ‘शिक्षकको तलब दिनेगरी बजेट दिईएको होईन् । विद्यालयको भौतिक पुर्वाधार निर्माणमा खर्च गर्नुपछ ।’ उनको भनाई थियो । विद्यालयहरुमा पोखरा १३ स्थित रहेको रतनपाण्डे मावि, पोखरा ३१ मा रहेको अनन्दज्योति मावि, मादी गाउँपालिका ९ गोर्जेस्थित हिमालय मावि, मादी ४ तारकाङको ध्रुव मावि, मादी ३ याङजाकोटस्थित सीताराम मावि, मादी १ सिक्लेसको अन्नपुर्ण मावि, रुपा गाउँपालिकाको विश्वशान्ति मावि देउराली र सिद्धस्थित गाउँफर्क मािवलाई १०/१० लाख रुपैयाँ छुट्टाइएको छ ।

खेलकुदको पुर्वाधारमा भने एउटा योजना परेको छ । पोखरा ३० स्थित भुगोलपार्क व्याडमिन्टन कोर्ट निर्माणको लागि १० लाख रुपैयाँ छ । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई ५० लाख रुपैयाँ दिइएको छ । त्यसैगरी कृषि उपज केन्द्र तालचोकलाई १० लाख, राधाकृष्ण बृद्धाश्रम भवन निर्माण गर्न १५ लाख र सोलार बत्ती जडानको लागि १० लाख रुपैयाँ छुट्टाइएको छ । उनले छुट्टाइएको रकम गाँउपालिका र वडा कार्यालय मार्फत उपभोक्ता समिति बनाई कामको सम्झौता गरी उपलब्ध गराउने बताए । ‘उपभोक्ता समितिसँग सम्झौता गरी काम अघि बढाईने छ ।’ उनको भनाई थियो ।