सवारी दुर्घटनामा मृत्यु वा घाइते हुनेलाई क्षतिपूर्ति रकम बढाइँदै

काठमाण्डौं, साउन २४ ।
सरकारले सवारी दुर्घटनामा मृत्यु वा घाइते हुनेको लागि क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ । हाल सवारी दुर्घटनामा मृत्यु हुनेको ५ लाख र घाइतेको अवस्थाअनुसार अधिकतम ३ लाखसम्म बीमामार्फत क्षतिपूर्ति हुने व्यवस्था छ । बीमा रकम बाहेक यसअघि यातायात समितिहरुले क्षतिपूर्ति स्वरुप पीडित पक्षलाई थप रकम समेत दिँदै आएका छन् ।

समितिहरु खारेज भएपछि यातायात कम्पनीहरुलाई थप क्षतिपूर्तिका लागि बाध्यात्मक अवस्था नरहने भएपछि विभागले बीमामार्फत क्षतिपूर्ति बढाउन लागेको हो । गम्भीर प्रकृतिको दुर्घटनामा घाइते हुनेको उपचार खर्च ३ लाखले नभ्याउने अवस्था समेत आउने गरेको छ। यातायात व्यवस्था विभागले बीमा समितिलाई क्षतिपुर्ति रकम बढ्ने गरी बीमाको प्रस्ताव माग गरेको प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए ।

‘न्यूनतम कति प्रिमियम राख्दा कतिसम्म बीमा हुन्छ भनेर समितिसँग प्रस्ताव माग गरेका छौँ’ उनले भने ‘१५ दिन भित्र समितिले प्रस्ताव दिइसकेपछि सम्बद्ध विज्ञहरुसँग छलफल गरी अघि बढ्छौँ ।’ बीमा कम्पनी धेरै भएकाले प्रिमियममा प्रतिस्पर्धा हुन गई यातायात कम्पनीलाई धेरै भार नबढ्ने उनले दावी गरे । क्षतिपूर्ति रकम कतिसम्म हुन सक्छ भन्ने विषयमा समितिको प्रस्ताव आइसकेपछि मात्रै थाहा हुने उनले बताए ।

‘औषधि उपचारको खर्च धेरै पनि लाग्न सक्छ, बीमा कम्पनीले कम प्रिमियममा बीमा रकम असिमित अर्थात खर्चअनुरुपकै बनाए झनै राम्रो’ उनले भने ‘यसको लागि समितिको प्रस्ताव कुर्नुपर्छ ।’ यसअघि यातायात व्यवसायीहरुले बीमा रकमलाई नै कारण देखाउँदै समिति खारेजको चर्को विरोध गरेका थिए। बीमा रकम बढाउँदा प्रिमियम पनि त्यहीअनुरुप बढ्ने बीमा समितिकी प्रवक्ता पुजन ढुङ्गेलले जानकारी दिइन् ।

‘बीमा कम्पनीहरु कति रकमसम्मको जोखिम ब्यहोर्न तयार हुन्छन् भन्ने कुराले प्रिमियमको निर्धारण हुन्छ’ उनले भनिन्। त्यस्तै सवारी साधनको सिट सङ्ख्याको आधारमा पनि प्रिमियम रकम तय हुने गरेको उनले बताइन् । ‘बीमा रकम नै बढ्ने भएपछि धेरै सिट संख्या हुने सवारीसाधनलाई प्रिमियम पनि बढी नै हुन जान्छ’ उनले भनिन् ।–सेतोपाटी