सर्वोच्चकै आदेशविपरीत पूर्वप्रधानन्यायधिशको अबैध सुविधा

काठमाण्डौं, फागुन २ ।
कानुन बनाएर मात्र पूर्वविशिष्ट अधिकारीलाई सुविधा दिन परमादेश दिने सर्वाेच्च अदालतभित्रै सवारी साधनको चरम दुरुपयोग भइरेहको छ। सर्वाेच्चकै आदेश विपरीत पूर्वप्रधानन्यायाधीशहरुले अवैध रुपमा महँगा सवारी साधनसहित चालक, अर्दली र इन्धनको सुविधा प्रयोग गर्दै आएका छन्। प्राप्त एक विवरण अनुसार सर्वाेच्चका १२ जना पूर्वप्रधानन्यायाधीशले गैरकानुनी रुपमा सर्वाेच्चको महँगा गाडी प्रयोग गर्दै आएका छन्। सरकारी नम्बर प्लेटलाई निजी नम्बर प्लेट (नक्कली) बनाएर उनीहरुले प्रयोग गर्दै आएका हुन्। पूर्वप्रधान्यायाधीश सुरेन्द्र प्रसाद सिंहदेखि सुशीला कार्कीसम्मले अदालतको परामादेशको खिल्ली उडाउँदै सुविधा लिँदै आएका छन्।
सिंहसहित पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केशवप्रसाद उपाध्याय, हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, केदारप्रसाद गिरी, मीनबहादुर रायमाझीले सर्वाेच्चको गाडी प्रयोग गर्दै आएका छन्। उनीहरुले २०६९ साल जेठमा सर्वाेच्चबाट गाडी लिएका हुन्। सरकारले अध्यादेश ल्याएका बेला सबैले त्यसरी सुविधा दिएका थिए। तर, अध्यादेश खारेज भएपछि पनि उनीहरुले गाडी फिर्ता गरेका छैनन्। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशको हकमा सर्वोच्च अदालतका न्यायाधीशहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन अनुसार निवृत्तिभरण बाहेक अरु कुनै सुविधा पाउने प्रावधान छैन।
त्यसपछि पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सवारी साधनको दुरुपयोग गर्दै आएको स्रोत बताउँछ। पूर्व्विशिष्टलाई दिइने सुविधा सम्बन्धी नयाँ कानुन बनेको छैन। तर, पनि उनीहरुले गाडी लगायतका सुविधा फिर्ता गरेका छैनन्। पूर्वप्रधानन्यायाधीशमध्ये सबैभन्दा महँगो गाडी शर्माले प्रयोग गरिरहेका छन्। जुन करिब २ करोड रुपैयाँ मूल्य बराबरको हो । वास्तविक नम्बर बा१झ ९८७७ भएको सो गाडीमा बा१०च ८४३३ नम्बर राखेर प्रयोग हुँदै आएको छ ।
उक्त गाडी हालै बिग्रिएपछि शर्माले मर्मतका लागि सर्वाेच्चमै पठाएको स्रोत बताउँछ। जुन गाडीको मर्मतमै करिब १० लाख रुपैयाँ लागेको छ। सबै पूर्वप्रधानन्यायाधीले मर्मतदेखि इन्धनसम्म सर्वाेच्चबाटै लिँदै आएका छन्।