सर्वसाधारणका लागि मनकामना मन्दिर खुला

गोरखा, मंसिर १३ ।
भूकम्पले क्षति पुगेपछि सर्वसाधारणलाई प्रबेशमा रोक लगाएको गोरखाको मनकामना मन्दिरमा बुधाबार देखी पूजाआजा शुरु गरेका छन् । २०७२ वैशाख १२ को भूकम्पले मन्दिरमा क्षति पुगेपछि मन्दिर बाहिर टहरो बनाएर पूजाआजा गर्ने व्यवस्थापन मिलाइएको थियो ।

जगैदेखि भत्काएर मन्दिर पुनर्निर्माण गर्दा करिब १५ करोड रुपैयाँ खर्च भएका मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए । मन्दिर पुनर्निर्माण गर्न सरकारले चार करोड रुपैयाँ समितिलाई दिएको थियो ।

प्यागोडा शैलीमा बनाइएको मन्दिरको छानामा १८ किलोग्राम सुनको जलप लगाइएको छ । तामाको पातामा सुनको जलप लगाएर मन्दिरको छानो आकर्षक बनाइएको हो ।

गोरखाका तत्कालीन राजा राम शाहकी रानीले चार सय वर्षअघि १७ औं शताब्दीमा मन्दिर बनाएको भनाई छ । विसं. १९९०, २०४५ र २०७२ का भूकम्पको धक्काबाट मन्दिर केही ढल्कीपछि पुननिमार्ण गरिएको हो ।