सर्लाहीमा काँग्रेस कार्यकर्तामाथि कसले चलायो गोली ?

सर्लाही, कार्तिक १३ ।
सर्लाहीको रामनगर गाउँपालिका ४ मा मंगलबार बिहान गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । बिहान साढे ८ बजे आएको एक समूहले रामनगर गाउँपालिका ४ का नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता रामविलास महतोमाथि गोली प्रहार गरी हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी पोषराज पोखरलेका अनुसार बिहान साढे ८ बजे महतोको घरमा पुगेको समूहले गोली प्रहार गरेको हो । गोली प्रहार लगत्तै स्थानीय ५० वर्षीय काँग्रेस कार्यकर्ता रामविलास महतोको मृत्यु भएको हो ।

स्थानीयमाथि गोली प्रहार भएपछि त्यहाँ दुई पक्षबीच झडप भएको छ । झडपका क्रममा ४ जना घाइते भएका छन् । झडपले उग्ररुप लिएपछि प्रहरीले हवाई फायरसमेत गरेको छ । घटनास्थलमा यतिबेला सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ ।

घटनामा मृत्यु भएका पीडित परिवारले भने नेकपाका कार्याकर्ताले घटना गराएको आरोप लगाएका छन् । तत्कालीन माओवादी केन्द्र र नेपाली कांग्रेसबीच यहाँ पहिलेदेखि नै विवाद र झडप हुने गरेको थियो ।

आज बिहान घटना हुनुभन्दा ठीक एक दिनअगाडि सोमबार मात्रै रामनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महतोमाथि एक समूहले आक्रमण गरेको थियो ।

सोमबार वडा कार्यालय जाँदै गर्दा स्थानीय उपेन्द्र रायको घरमा बसिरहेका १५–२० जनाको समूहले महतोमाथि आक्रमण गरेका थिए ।

आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उनको बायाँ खुट्टा भाँच्चिएको छ । महतोको मलङ्गवास्थित सर्लाही अस्पतालमा उपचार भइरहेको छ । वडाध्यक्ष महतोको आक्रमणपछि सोमबार साँझ पनि गाउँमा झडप भएको थियो ।

त्यस झडपपछि सोमबार साँझसम्म पनि गाउँमा तनाब भएको थियो । यसै तनाबका बीच मंगलबार बिहानै स्थानीय कांग्रेस कार्याकर्ता रामविलास महतोमाथि गोली प्रहार भएको हो । रामविलास वडाध्यक्ष रामनरेश महतोका काका हुन् ।

गोली कुन समूहले किन चलायो यकिन हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा राजनीतिक कारणबाट भएको र यसमा नेकपाका कार्याकर्ताहरुको संलग्नता हुन सक्ने अनुमान गरिएको छ ।