सराङकोट जाने बाटो फराकिलो बनाउने काम शुरु

पोखरा, पुस १५ ।
बिन्ध्यवासिनी–सराङकोट सडकखण्ड चक्ल्याउन सुरु गरिएको छ । पोखरा महानगरपालिका र वडा नम्बर १८ को समन्वयमा बाटो चक्ल्याउन थालिएको वडा नम्बर १८ का अध्यक्ष रणबहाहुर थापाले जानकारी दिए ।

वडा आफैंले ४ लाख बजेट बिनियोजन गरेर बाटो चक्ल्याउन सुरु गरेको उनले बताए । ‘आन्तरिक स्रोत नै परिचालन गरेर काम सुरु गरेका हौं,’ उनले भने, ‘अपुग भएको खण्डमा महानगरपालिकासँग माग गर्छौं ।’

घुम्तिहरु धेरैं परेकाले पनि काम छिटो हुन नसकेको उनले बनाए । ‘मोडहरु धेरैं छन् । त्यसैले पनि काम ढिलो भई रहेको छ,’ उनले भने, ‘अबको १ हप्ता भित्रमा सबै काम सक्छौं ।’ बाटोलाई २ मिटर फराकिलो हुने उनले सुनाए ।

केन्द्र र प्रदेशबाट १/१ करोड

बिन्ध्यवासिनी–सराङकोट सडकखण्डका लागि केन्द्रबाट १ करोड २० लाख र प्रदेश सरकारबाट बजेट छुट्याइएको उनले जानकारी दिए । केन्द्रबाट छुट्याइएको बजेटले नाला, ढल निकास साथै बाटोको स्तरोन्नति गरिने र प्रदेशबाट घरेलु बाटो निर्माणका लागि बजेट छुट्याएको उनले सुनाए ।

‘यसले सराङकोट जाने बाटो सहज त हुन्छ नै,’ उनले भने, ‘सराङकोट जाने पर्यटकको संख्या पनि बढ्ने छ ।’ निर्माण कम्पनीका लागि टेन्डर खुला नभएको र खुला हुने बित्तिकै काम सुरु हुने उनले जानकारी दिए ।