सराङकोटमा हत्या, धनकुटामा पक्राउ

पोखरा, पुस २० ।
‘चोर भनेपछि रिस उठ्यो, पहिल्यै झगडा परेको थियो, राती सँगै सुतेपछि उनीहरुलाई मैले नै मारेको हो, उनीहरुलाई घनले हानेपछि बाटोसम्म हिँड्दै आएँ, अनि बस चढें ।’ पोखराको सराङकोटमा निर्माणाधिन माउण्टेन रिसोर्ट एण्ड स्पामा १४ पुस १४ गते भएको हत्याका आरोपी सागर भन्ने पूर्णबहादुर लिम्बुको भनाई हो यो। पूर्णबहादुरले ढुङ्गा फुृटाउने घनले हिर्काएका १९ वर्षीय निमा शेर्पा र ३७ वर्षीय आङलाक्पा शेर्पाको मृत्यु भइसकेको छ भने २७ वर्षीय आङदावा शेर्पा अस्पतालमा रहेका छन् । उनीहरु भोजपुरको षडानन्द गाउँपालिकाका बासिन्दा थिए ।
प्रहरीका अनुसार उनीहरु करिब १५ दिन अगाडि होटलमा मजदुरी गर्न आएका थिए । सँगै काम गर्ने र सँगै सुत्ने क्रममा सागर भन्ने पूर्णबहादुर लिम्बुले घाइते आङदावा र मृतक आङलाक्पाको मोवाइल चोरेका थिए । मोवाइल चोरेको थाहा पाएपछि पूर्णबहादुरले ती मोवाइल उनीहरुलाई नै फर्काइदिए । मोवाइल फर्काएपनि मृतक र घाइतेले चोर भनेर गाली गर्दा प्रतिशोधमा पूर्णबहादुरले सहकर्मीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिहले बताए । ‘निर्माणाधिन होटलको तल्लो कोठामा सँगै सुतेको पूर्णबहादुरले अरु साथीहरु निदाए भनेपछि घनले टाउकोमा हानेको रहेछ’, कास्कीका प्रहरी प्रमुख सिंहले भने, ‘दुईजनाको घटनास्थलमै मृत्यु भयो, आङदावा भने टाउकोमा हिर्काउँदा उठेकाले बचेछन् ।’
पूर्णबहादुरलाई प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको नेतृत्वमा कास्कीबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय धनकुटाको सहयोगमा उनकै घर धनकुटाको छतरजोरपाटीबाट पक्राउ गरेको हो । प्रहरीले कास्की जिल्ला अदालतमार्फत् धनबहादुरलाई कर्तव्य ज्यान मुद्धामा कारवाही अगाडि बढाएको छ । घटनालगत्तै फरार अभियुक्तलाई प्रहरीले उनको मोवाइल ट्रेस गर्दै पक्रन सफल भएको थियो । घटना भएको दुई दिनपछि मात्र होटलका काम गर्ने कामदारहरु कता गए भन्दै स्थानीय बासिन्दाले खोजी गर्दा हत्याको विभत्स दृष्य बाहिर आएको थियो ।
नेपाल खवर डटकमका लागि बाशुदेव मिश्रले खवर लेखेका हुन् ।