सरकार संवैधानिक व्यवस्था मास्ने कार्यमा उद्धत छ : नेता सिटौला

 

पोखरा, कार्तिक ३० ।

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले कम्युनिष्ट सरकार संवैधानिक व्यवस्था मास्ने कार्यमा उद्धत रहेको आरोप लगाएका छन् । उनले यो सरकारले संवैधानिक प्रावधानमाथि थिचोमिचो गर्ने, मूल्य र मान्यता तोड्मोड एकदलीय हुकुमी शैलीमा राज्य सचालन गर्ने प्रयत्न गरिरहेको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसको चुनावी प्रचारमा सहभागी हुन शनिबार पोखरा आएका नेता सिटौलाले पोखरा–११ मा आयोजित कोणसभामा सरकारको यस्ता रवैया रोक्न जनदवाव सृजना गर्न आवश्यक रहेको स्पष्ट पारे ।

उनले भने, ‘संविधानको मर्म र भावना एकातिर र सरकार अर्कोतिर छ । एकदलीय कम्युनिष्ट शासन लाद्ने प्रयत्नशील छ । त्यसलाई रोक्न यो चुनाव उपयुक्त बाटो हो ।’

‘सरकारको यो रवैया लोकतन्त्रवादी पार्टी मात्र होइन सबै नेपाली जनताको चिन्ताको विषय हो । त्यसैले यो चुनावमार्फत सरकारलाई नैतिक दवाव सृजना गर्न पनि यो चुनाव महत्वपूर्ण हो’, नेता सिटौलाले भने ।

यो चुनाव जित्दैमा कांग्रेसको सरकार पनि नआउने, नेकपा सरकार पनि नढल्ने स्पष्ट पार्दै उनले कम्युनिष्टको पक्षमा जनमत नभएको सन्देश दिन पनि कांग्रेसले जित्नै पर्ने स्पष्ट पारे ।
सरकार पूरै अन्धो भएर अघि बढ्न खोजेको आरोप लगाउँदै नेता सिटौलाले नेपाली कांग्रेसका उम्मेदवार, निष्ठावान व्यक्तित्व खेमराज पौडेललाई जिताएर सरकारको आँखा खेल्न आग्रह गरे ।

मुलुकको राजनीतिलाई ठीक ठाउँमा हिंडाउन नेपाली कांग्रेसले यो उपनिर्वाचन जित्न आवश्यक रहेको बताए । सबैले मान्न सक्ने, सबैले सम्मान गर्न मिल्ने उम्मेदवार कांग्रेसले उठाएकाले खेमराजलाई जिताउँदा सबैको इज्जत र प्रतिष्ठा बढ्ने नेता सिटौलाले स्पष्ट पारे ।

जीवनभर कुनै लोभमा नपरेका नेता खेमराजलाई एक पटक जिताएर हेर्न आग्रह गर्दै उनले गुरुको उम्मेदवारीको सवै हर्षित भएको, छाती चौडा भएको बताए ।

‘सूर्य चिन्हमा मत दिनेले एक पटक मत चिन्ह परिवर्तन गरेर हेर्नुस्, खेमराजलाई जिताउनुस् अनि हेर्नुस् परिवर्तन हुन्छ कि हुँदैन’, उनले भने, खेमराज इमान्दारिताको प्रतीक हो, त्याग तपस्याको प्रतीक हो, उहाँ कहीं कतै चुक्नुभएको छैन ।’

उम्मेदवार खेमराजको चरित्र सामाजिक भएको, पार्टीमा नै खेमराज जत्तिको इमान्दार व्यक्तित्व नभएको भन्दै नेता सिटौलाले इमान्दार मान्छेलाई जिताएर पठाउँदा पोखराकै प्रतिष्ठा बढ्ने स्पष्ट पारे ।

राजनीतिमा इमान्दारिता, मितव्ययीता, सादगीपन, सरलता, पारदर्शिता, जवाफदेयीता, उत्तरदायित्वको खाँचो भएको भन्दै नेता सिटौलाले यी सबै गुण नेता खेमराजमा पाउन सकिने बताए ।

‘उहाँ भाषणविद् होइन, विचारविद् हो, चरित्रविद् हो । खेमराज कांग्रेसको मात्र सम्पत्ति होइन, मुलुककै सम्पत्ति हो । संरक्षण गर्न आवश्यक छ’, उनले भने ।

कांग्रेस नेतृ एवं सांसद डा. डीला संर्गौलाले आफ्नो श्रीमानको निधनमा १३ दिन पनि शोक मनाउन नसक्ने विद्यालाई रवीन्द्रको उत्तराधिकारी बन्ने नैतिक हैसियत नभएको बताइन् । धर्म संस्कृति मुलुकको पहिचान भएको भन्दै नेतृ संर्गौलाले त्यो पहिचान कुल्चेर हिंड्नेलाई जनताले बेलैमा चिन्नुपर्ने खाँचो औंल्याइन् ।

प्रश्नै प्रश्नको बीचमा केपी सरकार उभिंदै गर्दा आज मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि पनि प्रश्न उठेको भन्दै उनले ओलीको राष्ट्रवादको टोपी कालापानी, लिपुलेकको सीमाले खसालिदिएको बताइन् ।

लोकतन्त्रको रक्षा गर्दै कम्युनिष्ट अधिनायकवादलाई रोक्न यो मिनी जनमत संग्रह कांग्रेसले जित्न आवश्यक रहेको नेतृ संर्गौलाले स्पष्ट पारिन् ।

उनले लोकतन्त्रको मजबूती, जनता र मुलुकको समृद्धि, जनताको जनजीविका र जनसवालको पक्षमा कांग्रेस सधैं उभिरहेको भन्दै कांग्रेका यस्ता सवाललाई थप बिलियो बनाउन खेमराज पौडेललाई जिताउन आग्रह गरिन् ।

कांग्रेस उम्मेदवार खेमराज पौडेलले चुनाव प्रचार अभियानमा जनता निकै उत्साहित भएको भन्दै कांग्रेसको जीत सुनिश्चित रहेको बताए । ‘वर्तमान सरकार संविधानमाथि धावा बोल्न, भ्रष्ट, कुशासनले लिप्त, विभिन्न अपराध गर्न उद्धत छ’, उनले भने, ‘राष्ट्रियता, तोकतान्त्रिक गणतन्त्र र संघीयतालाई कमजोर बनाउने काम पनि सरकारबाट भएको छ । यस्ता क्रियाकलाप विरुद्ध कांग्रेसको उम्मेदवारी हो ।’

सरकारलाई सही बाटोमा हिंड भन्नका लागि पनि यो चुनाव नेपाली कांग्रेसले नै जित्न आवश्यक रहेको उनले स्पष्ट पारे । जनताको विश्वास, आस्था र भरोषालाई आफूले कहिल्यै पनि मर्न नदिने उम्मेदवार पौडेलले प्रतिवद्धता जनाए ।

कार्यक्रम पार्टीका इकाइ सभापति बोधराज घिमिरेको सभापतित्वमा भएको थियो ।