सरकार र गोविन्द केसीबीच बार्ता, आजै अनसन तोड्ने

काठमाडौं, पुस २९ ।
सरकारले अनसनरत डा.गोविन्द केसीसँग भेटबार्ता गरेको छ । स्वास्थ्य मन्त्री दीपक बोहरा र केसीले ५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । केसी र सरकारबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा प्रा.डा. जगदीशप्रसाद अग्रगाललाई नै निरन्तरता दिने उल्लेख छ ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने बुँदासमेत सहमति पत्रमा छ । सहमतिको चौथो बुँदामा त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने उल्लेख छ भने पाँचौमा केसीले अनसन कार्यक्रम अन्त गर्ने उल्लेख छ । केसीको प्रमुख मागमध्ये प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा एक भए पनि यो विषय भने सहमतिपत्रमा उल्लेख छैन ।
सर्वोच्च अदालतले आईओएमको डीनमा शशि शर्मालाई पुनर्वाहली गर्न आदेश दिएलगत्तै प्रा.डा केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै अनसन बसेका थिए । तर, अदालतले उनीमाथि अवहेलना मुद्दा दर्ता गराउँदै पक्राउ गर्न आदेश दिएको थियो । तर, केसी अदालतकै आदेशमा तारेखमा छुटेका थिए । रिहापछि पुनः अनसनलाई निरन्तरता दिएका केसी र सरकारबीच शुक्रबार राति सहमति बनेको हो । सहमतिसँगै तत्कालका लागि यो विषय साम्य हुने अपेक्षा गरिएको छ । केसीको अनसन पनि आजै तोडिने छ ।