सरकार गठनको बर्षदिनमा जेष्ठ नागरिक सम्मान

पोखरा, जेठ १४ ।
पोखरा महागरपालिका सरकार गठन भएको बर्षदिन पुगेको अवसरमा पोखरा ४ वडा समितिले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा समितिको पहिलो निर्णय अनुसार बार्षिकीको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । सोमबार ६४ जना जेष्ठ नागरिक सम्मानित भएका छन् । केही जेष्ठ नागरिकहरु छुटेकाले घरमै पुगेर सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । उनीहरुलाई दोसल्ला, सम्मानपत्र र हर्लिक्स सहित सम्मान गरिएको हो । कार्यक्रममा पोखरा महानगरका सहायक प्रशासकीय अधिकृत यामलाल अधिकारीेले जेष्ठ नागरिकको सम्मान र संरक्षण अहिलेको आवश्यक्ता रहेको भन्दै वडा ४ ले सुरुवात गरि प्रशसंनीय काम गरेको बताए ।

कार्यक्रममा वडा ३ का अध्यक्ष रविन्द्रबहादुर प्रजु, समाजसेवी रामकृष्ण पराजुली, लागू औषध नियन्त्रण वडा समन्वय समितिका संयोजक भगवति कोइराला (लला) लगायतले वडा नम्बर ४ ले बर्षदिन भित्र धेरै राम्रा काम गरेको र जनप्रतिनिधीको भूमिका असल रुपले पूरा गरेको बताए । वडाध्यक्ष शंकरप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यालयकी कर्मचारी सीता कोइरालाले गरेकी थिईन् भने स्वागत कार्यक्रम संयोजक तथा वडा सदस्य पुष्करबहादुर श्रेष्ठले गरेका थिए । कार्यक्रमपछि बृद्धबृद्धाहरुलाई पोखराको केदारेश्वर दर्शन गराई नगरपरिक्रमा गरिएको थियो ।