सरकार अरिङ्गाल बनोस्, हामी मौरी बनेर काम गर्न तयार छौं–हरिशरण आचार्य

पोखरा, पुस २४ ।
नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले संघीयता सरकारकै कारण असफल हुन लागेको बताएका छन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारले काखमा लिएर संघीयतालाई खतरामा राखेको बताए । ‘हाम्रो प्रदेश सरकार प्रतिपक्षीका कारण असफल हुँदैन । प्रतिपक्षीले काम गर्न नदिएर असफल हुँदैन । कसैले संघीयताको रक्षा गर्छु भन्ला । संघीयता राख्छु भन्ला । कसैले संघीयता मान्छु भन्ला, उनले भने–तर संघीयता राख्छु भन्नेहरु नै संघीयताको भक्षक बनिरहेको छ । संघीयतालाई माया गरेजस्तो देखाउने र काखमा लिएर संघीयताको भक्षक बन्ने कुरा निश्चित छ । त्यसैले संघीयतको रक्षक को हो भन्ने कुरा जनताले भोलिका दिनमा निर्णय लिनेछन् ।’

सांसद आचार्यले केन्द्रबाट अधिकार प्रत्यायोजन नभएका कारण प्रदेशसभा कमजोर बनिरहेको बताए । ‘प्रदेशसभालाई, प्रदेश सकारलाई अधिकार दिएको भए हामी यो अवस्थामा रहनुपर्दैनथ्यो । प्रदेशका सदस्यहरु अपमानित हुनुपर्ने अवस्था हुँदैनथ्यो, उनी भन्छन्–प्रदेश सरकारले सिडियोसँग अनुमति लिएर काम गर्नुपर्ने ? आज यही कारण हामी सुन्दर सपना देख्दा पनि गर्भमै हराउने सम्भावना छ ।’

उनले योगदान गर्न चाहान्छु भन्ने मान्छेलाई योगदान गर्न नदिनु सरकारको कमजोरी भएको टिप्पणी गरे । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले स्वेच्छिक रुपमा सरकारलाई सघाउन लागेको भन्दै त्यसलाई रोक्नु दुर्भाग्यपूर्ण रहेको गुनासो गरे । ‘कसैले अरिङ्गाल बन्ने सपना देखेको छ भने अरिङ्गाल नै बनोस् । तर हामी मौरी बन्न चाहान्छौं । ज्यामी बन्न चाहान्छौं । यो सपना देखेर यहाँ आएका छौं, उनले अघि भने–प्रतिपक्ष र सत्तापक्ष आर्थिक समृद्ध चाहान्छ भने सहकार्य गरेर अघि बढ्नुपर्छ । पुर्वाग्रही नबनौं । विगतमा भएको कामप्रति मेरो आपत्ति छ ।’