सरकारी निर्णय विरुद्ध प्रहरीले रोक्यो रात्रिकालीन ब्यवसाय

पोखरा, असोज २५ ।
सरकारले पोखरा क्षेत्रमा २४ सै घण्टा ब्यवसाय सञ्चालन गर्न स्विकृति दिईसकेको छ । ब्यवसायीहरुकै माग अनुसार जिल्ल प्रशासनको समन्वयमा रात्रिकालीन ब्यवसाय रातभरी पनि चलाउन पाउने सहमति भएको थियो । तर प्रहरीले भने त्यो निर्णयलाई लत्याएको छ ।
‘सरकारले ठमेल र पोखरालाई २४ सै घन्टा खोल्न पाउने नीति ल्याएको छ । तर, पर्यटकको चहलपहल हुने लेकसाइडमा प्रहरीले ११ बजे नै बन्द गर्न दबाब दिने गरेको छ,’ रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष चौबहादुर गुरुङले भने ।
पर्यटकीय सिजन सुरु भएको समयमा व्यवसायीलाई मात्र नभएर प्रहरीले पर्यटकलाईसमेत दुख दिने गरेको गुनासो व्यवसायीको छ । गुरुङले भने, ‘सुरक्षा दिने प्रहरीबाट हामीले व्यावसायिक असुरक्षाको महसुस गर्नुपरेको छ ।’
व्यवसायीले आफूहरुलाई बिनाकारण जबरजस्ती पक्राउ समेत गर्ने गरेको गुनासो गरेका छन् । केही दिनअघि बिजिबी क्याफेका सञ्चालक सुनील भट्टराईलाई बिनाकारण पक्राउ परेको व्यवसायी सुनाउँछन् । प्रहरीले बन्द गर्ने नाउँमा राति ११ बजे नै सबैखाले व्यवसाय बन्द गराउने गरेको रेबान सचिव गणेशबहादुर थापाले बताए ।
‘रक्सी खाएर होहल्ला गरेको भए प्रहरीले विशेष निगरानी राखोस्, बन्द गराओस् केही भएन तर सबै व्यवसाय ११ बजे नै बन्द गराउनु हुँदैन,’ थापाले प्रश्न गरे, ‘के ११ बजेपछि पोखरा आउने पाहुनाले खानै नपाउने ? ११ बजे नै किराना पसल पनि बन्द गर्ने, ट्राभल पनि बन्द गर्ने, चियाकफी सप पनि बन्द गर्ने गरिएको छ यो गलत हो ।’
११ बज्दा नबज्दै प्रहरीले गाडीबाटै सिठी बजाउँदै सबै पसल बन्द गर्न लगाउँदै हिँड्नु गलत भएको व्यवसायी भीमसेन भुजेल बताउँछन् । ‘११ बजे नै सानादेखि ठूलासम्म सबै खाले व्यवसाय बन्द गर्न लगाउने प्रहरीले अहिलेसम्म नभएको काम गरेको छ । यो गलत हो,’ रेबानका उपाध्यक्षसमेत रहेका भुजेलले भने । केही व्यवसायीले बदमासी गरेका छन् भने कारबाहीको दायरामा ल्याउनुपर्ने तर सबैलाई दुख दिन नपाइने उनको तर्क छ ।
प्रहरीले हैरान पारेको भन्दै रेबान आवद्ध व्यवसायीले प्रमुख जिल्ला अधिकारी (सिडिओ) गुहारेका छन् । आइतबार प्रजिअ तारानाथ अधिकारीलाई भेटेर प्रहरीले व्यवसायीलाई आतंकित गराउने काम गरेको भन्दै सहज वातावरण बनाइदिन आग्रह गरेका छन् । गृह मन्त्रालयले पोखरामा २४ सैं घन्टा व्यवसाय चलाउन दिने निर्देशन दिएपछि खुसी भएका व्यवसायी यतिबेला चिन्तित छन् ।