सरकारी निर्णयको विरुद्धमा मुख्यमन्त्री

पोखरा, चैत १९ ।
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले गरेको आदिवासी जनजाति सांस्कृतिक पर्व विदा कटौतिलाई फिर्ता लिनुपर्ने बताएका छन् । आइतबार तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदले पोखरामा आयोजना गरेको प्रदेश नामाङकन विचार गोष्ठीमा बोल्दै गुरुङले केन्द्र सरकारले संविधानको मर्म विपरित पर्वहरुको विदा कटौति गरेकाले तत्काल निर्णय सच्याउन आग्रह गरे । मुख्यमन्त्री गुरुङले सार्वजानिक विदाका कारण देश विकास हुन नसकेको नभई भ्रष्ट नेताहरु मुख्य कारण भएको आरोप लगाए । उनले देशका सबै तह र तप्कामा समान अधिकार र पहुँच हुनुपर्ने भन्दै सडकको बलमा अधिकार स्थापित गर्न खोजेर अस्थिरता ननिम्त्याउन अनुरोध गरे । उनले प्रदेश ४ गुरुङ जातिको अदिम थलो भएको भन्दै सबै जातजाति, समुदायको सहमति र सहकार्यमा प्रदेश नामाकरण गरिनेमा जोड दिए । प्रदेश नामाकरण गर्न संसदीय समिति बनिसकेको अवस्थामा दुई तिहाईले नामाकरण गर्न सक्ने उल्लेख गर्दै उनले ब्यापक छलफल गरेर सहमति खोजिने बताए ।
पोखरा सभागृह हलमा आयोजित गोष्ठीमा बोल्दै एमाले सांसद इन्द्रधारा विष्टले समय सापेक्ष प्रदेशको नामाकरण हुनुपर्ने भन्दै संसद समिति संग छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले अधिकार स्थापित गर्न आफैँ भित्र एकता हुनुपर्ने समेत बताए । कार्यक्रममा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले सबैको अधिकार सुनिश्चित भए मात्र राष्ट्र बलियो हुने भन्दै सरकार एकात्मक सोँच बाट पछि हट्नुपर्ने बताए । उनले सरकारले गुरुङ समुदायको एक दिने बिदालाई समेत कटौति गरेर एकात्मक साँेच पालेको जिकिर गरे । कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सांसद गायत्री गुरुङले पार्टीले प्रदेशलाई पहिचानका आधारमा नामाङकन गर्न लबिङ्ग गरिरहेको बताईन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाका सांसद पियारी थापाले सबै जातजातिको अधिकार समान हुनुपर्ने भन्दै अधिकार लडेर लिनुपर्ने औंल्याईन् । नयाँ शक्ती पार्टीका सांसद हरिशरण आचार्यले प्रदेश ४ लाई गुरुङ जातिको पहिचानका आधारमा तमुवान नामाकरण नगरिए नोट अफ डिसेण्ट लेख्ने प्रतिवद्धता जाहेर गरे । उनले गुरुङहरुको थतथलो रहेको प्रदेश ४ लाई तमुवान प्रदेश घोषणा गर्न आफ्नो पार्टीले पहल गर्ने समेत बताए ।
गोष्ठीमा बोल्दै आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले जातिय सदभाव बिथोल्न सरकार नै अगाडि बढेको भन्दै सबै धर्म, जातजातिको समान अधिकार हुनुपर्नेमा जोड दिए । आदिवासी जनजाति अगुवा डा. ओम गुरुङले ऐतिहासिक, राजनितिक आधारमा प्रदेश ४ को नाम तमुवान राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले सरकारले गुरुङ समुदायको महान पर्व ल्होसारमा दिदै आएको सार्वजानिक विदालाई यथावत राख्नुपर्ने भन्दै विदा कटौति निर्णय फिर्ता नलिए सडक आन्दोलनमा जाने चेतवानी दिए ।