सरकारले बाढेको एउटै तक्माको मूल्य १५ लाख

काठमाण्डौं भदौ २३ ।
राज्यलाई महत्वपूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौँ व्यक्तिलाई विभिन्न विभूषण (तक्मा) ले सम्मान गर्दछ । सम्मानित हुनेमा धेरैजसो सत्तानिकट व्यक्ति हुने भएकाले विभूषण वितरण सधैँ विवादमा पर्ने गर्छ । यसमा हरेक वर्ष ठूलो बजेट पनि खर्च हुने गरेको छ ।

गत मंगलबार प्रदान गरिएको विभूषणमा करिब आठ करोड खर्च भएको छ । एक वर्षअघिको सिफारिसको आधारमा तीन सय ४३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित गरिएको थियो । जुन तक्मा बनाउन आठ करोड खर्च भएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले दिने तक्मामध्ये सबैभन्दा ठूलो नेपालरत्न हो । यो तक्मा बनाउन करिब १५ लाख खर्च हुन्छ । नेपालरत्न विभूषण यस वर्ष स्व. बिपी कोइरालालाई प्रदान गरिएको थियो । तक्मा हीराजडित हुन्छ । यसैगरी, राष्ट्रगौरव तक्माको नौ लाख, राष्ट्रदीपको करिब साढे ६ लाख तथा जनसेवाश्रीको ६ लाख रुपैयाँ लाग्छ । राष्ट्रगौरव र राष्ट्रदीप पनि हीरा र सुन जडान गरेर निर्माण गरिएको हुन्छ ।, नयाँ पत्रिकामा खबर छ ।