सरकारलाई कारबाही गर्ने सर्वोच्चको चेतावनी

काठमाण्डौं, भदौ ३० ।
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई रिहा गर्न आदेश जारी गरिएपनि पटक पटक पक्राउ गरिएको विषयमा सर्वोच्च अदालतले सरकारलाई सेचत गराएको छ । सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले प्रकाण्डको पक्राउबाट अदालतको अवहेलना भएको भन्दै सरकारलाई कडा चेतावनी समेत दिएको छ ।

प्रकाण्ड पक्राउ प्रकरणमा अदालतले संविधानको धारा १२८(४) बमोजिम अवहेलानासम्बन्धी कारबाही चलाउनसक्ने भन्दै सरकारलाई चेतावनी दिएको हो । बन्दीप्रत्यक्षीकरणको मुद्दामा ३ पटक थुनामुक्त गर्न आदेश दिँदा पनि पुनः पक्राउ गरिएको भन्दै अदालतले प्रकाण्ड संविधानबाट प्रत्याभूत वैयक्तिक स्वतन्त्रताको हक उपयोग गर्न बञ्चित भएको ठहर गरेको छ ।

‘निरन्तर थुनामा राखेको देखिएको परिप्रेक्ष्यमा नेपालको संविधानले प्रत्याभूत गरेको वैयक्तिक स्वतन्त्रताको हकको उपभोग गर्नबाट यी निवेदक बञ्चित हुन गएको विषयमा यो इजलाश संवेदनशील भएको छ,’ न्यायाधीश द्वय सिन्हा र सिंहको इजलाशले शुक्रवार जारी गरेको आदेशमा भनिएको छ, ‘नागरिकको मौलिक हक कुण्ठित हुँदा मौलिक हकको प्रचलनको लागि यस अदालतबाट एउथै व्यक्तिको गैर कानूनी थुनाको सम्बन्धमा पटक पटक आदेश जारी गर्नु परेको सन्दर्भमा कहिँ यस अदालतको आदेश निस्तेज पार्ने र चल्ने प्रयत्न गरिएको त होइन ? भन्ने आशंकाको आभास समेत हुन गएको छ ।’

सर्वोच्चले शुक्रवार चौथोपटक प्रकाण्डलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । यद्यपि प्रहरीले उनलाई पुनः पक्राउ गरेको छ ।