सरकारलाई ओलीको ब्यंग्य–ढोडको बारले सत्ता टिक्दैन

पोखरा, माघ १२ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई ढोडको बारको संज्ञा दिएका छन् । नयाँ जनमत आएपछि सत्ता हस्तान्तरण गर्नुपर्नेमा अहिलेको सरकार ढोडको बार बारेर सुरक्षित हुन खोजेको उनले बताए । ‘सरकारको काम संविधान कार्यान्वयन गर्ने हो । उल्टै अल्झन झिकेर सत्ता लम्ब्याउने खेलमा लागेको छ, उनले भने–लोकतन्त्रको पर्याबाची पार्टी ढोड ठड्याएर भएपनि बार लगाउन खोज्छ । ढोडको आयु कति लामो होला र ?’ म्याण्डेट नभएको सरकारले जथाभावी निर्णय गरेर देशलाई कंगाल बनाउन खोजेको ओलीको आरोप छ । समुदायिक रेडियो प्रशारक संघको पोखरा सम्मेलनलाई सम्बोधन गर्दै ओलीले सरकारको एउटा निर्णयले देशलाई बर्षेनी ९० अर्व ब्ययभार थपिएको बताए ।
उनले संविधानमा चित्त नबुझेका बिषयहरु नयाँ सरकार आएपछि संशोधन हुने बताए । ‘संविधान अहिले नयाँ छ । यसको उपयुक्त र सकारात्मक ब्याख्या गर्ने हो । यसलाई कहाँ अल्झाउन सकिन्छ भनेर खोज्ने होईन, उनले भने–लोकतन्त्रको सही कार्यान्वयनका लागि संविधान परिवर्तन गर्न सकिन्छ । तर देशलाई दुरगामी असर पर्ने बिषय संशोधन हुँदैनन् ।’ अध्यक्ष ओलीले कतिपय राजनीतिक पार्टीभित्र गलत मनसाय लुकेको भन्दै आँफु केन्द्रित संशोधनमा जोड दिएको बताएका छन् । ‘एमालेले पहिले पनि संविधान संशोधन हुँदैन भन्या होईन । केही प्रश्ताव गलत मनसायका थिए, त्यसको विरोध गरेको हो, उनी भन्छन्–मधेशका जनतालाई संविधानले कुनै विभेद गरेको छ भने तत्काल हटाईन्छ । आउनुस् सहकार्य गरौं ।’ संविधान संशोधनको डरले मधेस केन्द्रित दलहरु कांग्रेससँग सहकार्य गर्न पुगेका ओलीको गुनासो छ ।