‘सरकारप्रति मतदाता निकै रुष्ट’

 

पोखरा, कार्तिक ३० ।

नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले पोखरा–२०, भलामतर्फको घरदैलो अभियान सकेर फर्किएका छन् । उनले २ दिन लगाएर यस क्षेत्रमा घरदैलो गरेका थिए । बिहीबार साविक भलाम–१ बाट अभियान शुरु गरेका पौडेलले डाँडाखोरसम्म घरदैलो गरेका थिए । शुक्रबार बिहान मौजा आँटीघर लगायतका क्षेत्रमा घरदैलो गरेका हुन् ।

उनले चुनाव प्रचारमा घर–घरमा पुग्दा मतदाता सरकारप्रति निकै रुष्ट भएको जानकारी दिए । ‘भलाम क्षेत्रका मतदाता यो सरकारप्रति निकै रुष्ट बनेका रहेछन् । मेरो उपस्थितिले उनीहरू केही शान्त भएका छन्’, उम्मेदवार खेमराजले भलामको घरदैलो सकेर पोखरा फर्किएपछि भने, ‘म सधैं तपाइँहरूकै साथमा र सुख दुःखमा रहनेछु भनेर प्रतिवद्धता जनाएको छु ।’

घरदैलो अभियान समापन कार्यक्रममा संयोजक विन्दुकुमार थापाले कम्युनिष्ट सरकारको रवैयाले जनता वाक्क दिक्क भएको बताए । उनले जनताको आशा र भरोषाको पार्टी कांग्रेस नै भएको मतदाताले अभिव्यक्त गरेको बताए ।

सांसद विन्दादेवी रानाले जनताको पहरेदार पार्टी कांग्रेसमात्र भएको भन्दै सरकारलाई ठीक ठाउँमा ल्याउन पनि कांग्रेसले जित्नै पर्ने बताइन् । उनले राज्यको चौथो अंगलाई त जेल हाल्न सक्ने सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै यो सरकार संविधानको मर्म र भावना अनुसार चल्न नसकेको स्पष्ट पारिन् ।

वडासभापति चीनबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेताहरू दीपक गुरुङ, इन्द्र सापकोटा, काशीराम गुरुङ, महिला नेतृ शकुन्तला गुरुङले पनि कार्यक्रममा बोलेका थिए ।

शनिबार पोखरा–११ मा घरदैलो

उम्मेदवार खेमराजले शनिबार बिहानदेखि पोखरा–११ वडामा घरदैलो गर्ने कार्यक्रम छ । पोखरा–११ मा घरदैलो सकेर आइतबार उनी पोखरा–३३ पुग्नेछन् । पोखरा–३३ मा उनले २ दिन बिताउनेछन् । त्यहाँका मतदाता भेट्नेछन् । पोखरा–३३ पौडेलको पकड क्षेत्र मानिन्छ ।

पोखरा–३३ मा करिब ८ हजार मतदाता छन् । त्यसमध्येमा करिब ४ हजार मत कांग्रेसको पक्षमा आउने चुनाव प्रचार समितिका संयोजक एवं कांग्रेका केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए ।

करिब १५ दिनदेखि पोखरा–३३ मै रहेका नेता परियारले टोलिफोन संवाद गर्दै भने, ‘यस क्षेत्रमा कांग्रेसको माहोल निकै राम्रो छ । मतदाता पनि उत्साहित छन् । पार्टीको सबै संयन्त्र प्रयोग गरेर चुनाव प्रचार गरेका छौं ।’ उम्मेदवार खेमराज पौडेलको व्यक्तिगत छविका कारणले पनि पोखरा–३३ का मतदाता उत्साहित भएको नेता परियारले बताए । उनले भने, ‘कास्की कांग्रेसले उम्मेदवारसहितको घरदैलो २ दिनमात्र छुट्याएको छ । यति समय यो क्षेत्रका लागि निकै थोरै हो । तर भएको समयलाई सही सदुपयोग गर्दै सबै मतदातालाई उम्मेदवारसंग भेट गराउने हाम्रो योजना छ ।’

यता, पोखरा ११ मा पनि एक चरणको मतदाता भेटघाट कार्यक्रम सकिएको छ । शनिबार उम्मेदवारसहितको घरदैलो कार्यक्रम हुने चुनाव प्रचार समितिका सहसंयोजक एवं पार्टी सचिव सुदिप मोहन भट्टराईले जानकारी दिए । उनका अनुसार चुनाव प्रचारका लागि नेपाल तरुण दल, महिला संघ, नेविसंघका नेता कार्यकर्ता परिचालन गरिएको छ । ‘पोखरा–११ मा करिब ६ हजार मतदाता छन् ती सबैलाई एक पटक भेट्ने योजना बनाएका छौं’, उनले भने । पोखरा–११ कांग्रेसकै बलियो क्षेत्र भएको भन्दै उनले यस पटक विगतको भन्दा १ हजार बढी मत कांग्रेसको पक्षमा आउने दावी गरे ।

यस्तै, पोखरा–२१ मा पनि कांग्रेसले घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएको छ । चुनाव प्रचार समितिका संयोजक गुरु बरालका अनुसार पार्टीका सबै संयन्त्रको भेला गरि विभिन्न समिति गठन गरि तिनै समिति चुनावमा परिचालित गरिएको छ ।

‘वडाभित्र विभिन्न कलष्टर छुट्याएर मसिनो गरि चुनाप प्रचार र मतदाता भेटघाट गरेका छौं’, संयोजक बरालले भने । चुनाव प्रचारमा मतदाताको गुनासो सुन्ने काम गरिसकेको र अब पार्टीको प्रतिवद्धता लिएर पुनः एक पटक मतदाता भेट्ने योजना रहेको नेता बरालले बताए ।

‘पोखरा–२१ मा करिब ७ हजार ५ सय मतदाता छन् । त्यसमा करिब ४ हजार कांग्रेसको पक्षमा आउने मत हो’, उनले भने, ‘यस पटक ५ हजार मत कांग्रेसको पक्षमा ल्याउन प्रयत्न गरिरहेका छौं ।’ यस पटक कांग्रेसको पक्षमा निकै राम्रो माहोल बनेको उनले स्पष्ट पारे ।

उम्मेदवार पौडेललाई आइतीश्रीको आशिर्वाद

कांग्रेस उम्मेदवार खेमराज पौडेललाई वृद्धवृद्धाको आशिर्वादको ओइरो लागेको छ । शुक्रबार बिहान ७ बजे नै पोखरा–२० को मौजा आँटीघर पुगेका उम्मेदवार पौडेललाई १०६ बर्षीय आईतश्री दमिनीले चुनावमा विजयको आशिर्वाद दिएका छन् । उनले भनिन्, ‘तिम्रो मुहार उज्यालो पाएँ । शिर उँचो पाएँ । तिमीले चालेका सबै पाइला सबै पाइला सफल होउन्, आशिर्वाद छ ।’

त्यस बेला उम्मेदवार पौडेलले आइतीश्रीको पाउ छोएका थिए । पौडेलले पनि आइतीश्रीको सुस्वाथ्य र दीर्घायूको कामना गरेका थिए । धेरै वर्ष अघि चिनेकी खेमराजलाई आफ्नौ घरमा आईतश्री निकै खशी भईन् । उनले भनिन्, ‘चुनाव जितेपछि हामीलाई नभल्नु है बाबु ।’ जवाफमा खेमराजले चुनाव पछि अवश्य भेट्न आउने बाचा गरे ।

उनले अहिलेसम्म ११ पटक मतदान गरिसकेकी छन् । उनीसंग मत माग्न आउने उम्मेदवार जितेर गए पछि कोही पनि आएका छैनन् । उनले भनिन्, ‘मेरो पाउ छोएर भोट धेरैले मागे । मैले भोट पनि दिएँ तर जितेपछि अहिलेसम्म कोही पनि फर्किएर मलाई भेट्न आएका छैनन् ।’ ‘उम्मेदवार पौडेलले संस्कृत विद्या पढेका छन् । उनले झुटो बोल्न हुँदैन । त्यसैले उनी आउँछन् भन्ने विश्वास छ’, उनले भनिन् ।

पोखरा ७ मा पनि घरदैलो कार्यक्रम जारी

उप–निर्वाचनको प्रचार कार्यक्रम अन्तरगत नेपाली कंग्रेस पोखरा ७ ले पनि घरदैलो कार्यक्रम जारी राखेको छ ।

शुक्रबारको घरदैलो कार्यक्रम सुरु गर्दै नेपाली कंग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री डा. रिजालले कम्यनिष्ट अधिनायकवाद र रबैया नेपालमा टिक्न नसक्ने बताए । यसका साथै उनले यो निर्वाचनमा प्रजातन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको खातिर पनि कंग्रेसलाई जिताउनुको विकल्प नभएको बताए ।

उक्त कार्यक्रममा केन्द्रिय सदस्य गोबिन्द भट्टराई, नेता शुक्रराज शर्मालगायत स्थानिय कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । घरदैलो कार्यक्रम अन्तरगत शनिबार पनि प्रचारप्रसार कार्यक्रम जारी रहने वडा सभापति नवीनराज बरालले जानकारी दिए ।