सरकारको नीति तथा कार्यक्रमलाई सांसदको टिप्पणी–एमालेको घोषणापत्र आयो

प्रकाश ढकाल
पोखरा, बैशाख ५ ।
प्रदेश सकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमबारे मंगलबार संसदमा छलफल भएको छ । ३ महिने बजेट निर्माणअघि ल्याईएको नीति तथा कार्यक्रमलाई सत्तापक्ष दल एमालेले उत्कृष्ट भनेपनि अन्य सांसदहरुले असन्तुष्टी पोखे । केही सांसदहरुले नीति तथा कार्यक्रम अमुर्त र असंवेदनशिल हिसावले एमालेको पार्टी अधिबेशनमा ल्याईएको दस्ताबेज जस्तो भएको आरोप लगाए ।

काँग्रेसतर्फका सांसद कुमार खड्काले सरकारले झुटको पुलिन्दा सार्वजनिक गरेको गुनासो गरे । ‘सरकारका केही योजनाहरु राम्रा छन् । तर यो अमुर्त र विवेकशून्य छ, उनी भन्छन्–नीति तथा कार्यक्रम सत्तारोहणको पुलिन्दा मात्रै हो । सरकारले झुटको खेती ग¥यो ।’ उनले संघीयता कार्यान्वयनको अवस्थासम्म आईपुग्दा योगदान गर्ने पुर्वजलाई नसम्झिएको प्रति कटाक्ष गरे ।

‘जननायक विपी कोइराला, शान्ति प्रक्रियाका महानायक गिरिजाप्रसाद कोइराला, संविधान जारी गर्ने सुशिल कोइारला र तीनै तहको शान्तिपूर्ण चुनाव गराउने शेरबहादुर देउवालाई त कांग्रेस भएबापतको सजायँ दियो, उनले भने–देशकै पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन भट्टराईलाई पनि नीति तथा कार्यक्रममा नसम्झिएर माक्र्सवादी भएवापतको सजायँ दिएको छ । त्यसैले यो दस्तावेज खेदजनक छ ।’

यो दस्तावेज खेदजनक छ ।

सरकारले गरिव तथा पिछडा बर्गको लागि ठोस कार्यक्रम बनाउन नसकेको, प्रचारमुखी कार्यक्रममा ध्यान दिएर झुक्याउने काम गरेको उनको गुनासो छ । अर्का सांसद कृष्णचन्द्र नेपालीले सरकार निरंकुशता तर्फ उन्मुख भएको आरोप लगाए । ‘सरकारले आफ्नै रेडियो टिभी चलाउँछु भन्छ । लोकतन्त्रमा सरकारको सञ्चार माध्यम चलाउँदैन, उनले भने–सरकाका कार्यक्रम श्रोत खोजीमा केन्द्रित भएन । पार्टीको डकुमेण्ट बनाएर प्रश्तुत गरेझैं नीति तथा कार्यक्रम एमालेको पार्टी अधिबेशनमा प्रश्तुत भएजस्तो लागेको छ ।’
माओवादी सांसद आशा कोइरालाले सरकारले शहीदलाई उपेक्षा गरेको आरोप लगाईन् । ‘संघीयताको उपलब्धीमा टेकेर नीति तथा कार्यक्रम ल्याउँदा शहीदलाई बेवास्ता गरिनु सरकारको अपरिपक्वता हो । १० बर्षे महान जनयुद्धकै जगमा उभिएर प्रदेश संरचनामा आउन सकेका हौं, उनले भनिन्–सरकारको कार्यक्रम औचित्यपूर्ण छ । तर ईतिहासको बेवास्ता गर्दा गणतन्त्र र संघीयताको रक्षा हुन सक्दैन ।’

उनले शसस्त्र द्धन्द्धको सट्टा जनयुद्ध र द्धन्द्ध पीडितको सट्टा घाईते तथा अपाङ्ग योद्धा उल्लेख गर्न सरकारलाई सुझाव दिएकी छिन् । जनमोर्चाका सांसद टेकबहादुर घर्तिले सरकारको नीति तथा कार्यक्रम कास्की र पोखरासँग केन्द्रित भएको गुनासो पोखे । ‘प्रदेशमा कास्की मात्रै छैन, ११ जिल्ला छन् । यसको हेक्का सरकारलाई होस्, उनले भने–विकासको विकेन्द्रीकरण समान हुनुपर्छ । सबैले सरकारको कार्यक्रमबाट फाईदा लिन पाउनुपर्छ ।’ उनले बागलुङको ढोरपाटन क्षेत्रलाई उपेक्षा गरेको बताए ।
नयाँ शक्तिका हरिशरण आचार्यले पछिल्लो समय नेपालको अर्थतन्त्रमा ब्यक्तिबादी प्रबृत्ती हावी भएको बताए । ‘राजनीतिक रुपमा समृद्धीका कुरा धेरै चलेपनि नीति तथा कार्यक्रमले त्यसलाई समेट्न सकेन । नेपालमा संस्था र केन्द्र गरिव हुने तर ब्यक्ति र नीजि क्षेत्र धनी बन्ने परम्परा छ, उनी भन्छन्–यसलाई राज्यमा रुपान्तरण गर्नुपर्छ । सरकारले त्यसका लागि स्पष्ट नीति अख्तियार गरोस् ।’ उनले अधिकार सम्पन्न विपद ब्यवस्थापन प्राधिकरण प्रदेश स्तरमै गठन गर्नुपर्ने सुझाव दिए ।

प्रदेशको समृद्धीका लागि उर्जालाई प्राथमिकताका साथ अघि बढाउन आग्रह

आचार्यले प्रदेशको समृद्धीका लागि उर्जालाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरे । एमालेका ईन्द्रलाल सापकोटाले सरकारको नीति तथा कार्यक्रमले सपना देखाएको भन्दै कार्यान्वयनमा सघाउन आग्रह गरे । ‘सरकारले पहिलो पटक सपना देखेको छ । सपना नदेखि लक्ष्य कसरी पूरा हुन्छ ?, विपक्षीलाई संकेत गर्दै उनले भने–छुटेका कुरा समेट्न सकिन्छ । कार्यान्वयन प्रक्रियामा सबैको साथ चाहिन्छ । नत्र प्रदेशको विकास सम्भव छैन ।’
मंगलबारको बैठकमा सांसदहरु कृष्णबहादुर थापा, चन्द्रबहादुर बुढा, मीना गुरुङ, इन्द्रलाल सापकोटा, मणिभद्र शर्मा, मधुमाया अधिकारी, जनकलाल श्रेष्ठ, रोशनबहादुर गाहा थापा, दिलमाया रोक्का मगर, पुष्पा केसी भण्डारी र रामबहादुर गुरुङले आफ्नो सुझाव राखे । उनीहरुले युवालाई रोजगारीको सुनिश्चितता, सरकारको प्राथमिकीकरण, भ्रष्टाचार नियन्त्रण जस्ता बिषय उठाए ।

नीति तथा कार्यक्रममाथी बुधबार पनि छलफल गर्ने कार्यक्रम छ । नीति तथा कार्यक्रम संसदबाट पारित भएलगत्तै बजेट ल्याउने सरकारको तयारी छ । प्रदेश सरकार सञ्चालनपछि पहिलो नीति तथा कार्यक्रम भएकाले ऐतिहासिक रुपमा ग्रहण गर्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आग्रह गरे । उनले परिमार्जनमा सबैको सुझाव समेट्ने प्रतिबद्धता जनाएका छन् ।