मुख्यमन्त्री भन्छन्–पोखरामा ४ वटा ईन्जोय जोन बनाईन्छ

पोखरा, जेठ २१ ।
एकताका रेडलाईट एरियाको प्रश्ताव ल्याएर विवादित बनेको गण्डकी सरकारले नयाँ प्रश्ताव अघि सारेको छ–ईन्जोय जोन । कतिपयले यसलाई रेडलाईट एरियाकै विकसित रुपमा हेरेका छन् । विभागिय मन्त्री विकास लम्सालले ईन्जोय जोनमा यौन ब्यापारदेखि गाँजा सेवन सम्मको छुट प्रश्तुत गरे । चौतर्फी आलोचना पछि त्यसलाई सुधारेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ईन्जोय जोनमा अवैध क्रियाकलाप नहुने दावी गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहित विपक्षमा रहेको नयाँ शक्ति पार्टी नेपालले पनि ईन्जोय जोनबारे सरकारले सदनमा चित्तबुझ्दो जवाफ दिनुपर्ने भन्दै सदन अवरुद्ध गरेका थिए । सोमबार मुख्यमन्त्री गुरुङले कानुनले बैध बानेका गतिविधि मात्रै गर्नेगरि पोखरा आसपासमा ४ वटा ईन्जोय जोन बनाउन लागिएको बताए । ‘इन्जोय जोनबारे हामी कहाँ छौं । इन्जोय जोन भन्नेबित्तिकै नकरात्मक पाटोबाट हेर्छौं । के फनपार्क इन्जोय जोन होइन ? आइटी पार्क इन्जोय जोन होइन ? के विशेषखालको रेस्टुरेण्ट इन्जोय जोन होइन ?’ मुख्यमन्त्री गुरुङले सदनबाट सोधे ।

ईन्जोय जोनलाई मनोरञ्जन स्थलको रुपमा हेर्न उनको आग्रह छ । संसारमा सबैतिर इन्जोय जोन छुट्याउने गरिएको अनुभव सुनाउँदै उनले गण्डकी सरकार पनि ईन्जोय जोन बनाएर पर्यटकको बसाई लम्ब्याउन चाहेको बताए । उनले पोखराको हल्लनचोकदेखि पामेसम्म, सराङकोटदेखि कास्कीकोटसम्म, कुबिन्डेदेखि मट्टिखानसम्म, ढिकिडाँडादेखि गर्लामसम्म र रुपादेखि बेगनाससम्मका ठाउँमा अध्ययन गरी निजी क्षेत्रलाई लगानीको आह्वान गरिने बताए । ‘टुरिस्टहरुले इन्जोय गर्ने इन्जोय पार्क भन्न पनि मिल्यो । रिफ्रेस सेन्टर भन्न पनि मिल्यो,’ गुरुङ भन्छन्, ‘नभए पर्यटकीय केन्द्र भनेर प्रचार गर्न पनि सकिन्छ । के भन्दा उपयुक्त हुन्छ, नाम त्यही भनौंला ।’

सोमबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ईन्जोय जोनको अवधारणा सँगै आँफुखुशी बाँढिएका बजेटबारे जवाफ मागेका थिए । राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई गरिने विभेदबारे पनि उनको जिज्ञासा थियो । प्रश्नको सुनुवाई गर्दै मुख्यमन्त्री गुरुङले कर्मचारी सरुवा बढुवामा जेष्ठतालाई बढी ख्याल गरिएको बताए । यस्तै अपाङ्गता भएका र महिला कर्मचारीलाई प्राथमिकतामा राखेर सरुवाको ब्यवस्था मिलाएको उनको भनाई छ । मोडल फार्मका लागि दिईएको अनुदान वितरण मापदण्ड निर्माणमा चाहीँ सरकार चुकेको उनले स्विकारे ।

‘मापदण्ड बनाउँदा चुकेकै हो । आगामी दिनमा यस्तो हुँदैन,’ उनले भने, ‘प्रतिपक्षीको आलोचनालाई सुझावको रुपमा लिएका छौं । धन्यवाद ।’ मुख्यमन्त्रीको जवाफसँगै संसद नियमित रुपमा चलेको छ । प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सरकारले नै कमजोरी स्विकारेपछि विवाद नझिकेको बताए । ‘कतिपय कमजोरीहरु स्विकार गरेपछि विरोध अगाडी बढाईएन,’ उनले भने, ‘बजेटमा समस्या भएन भने सदन हाम्रो कारणले रोकिँदैन ।’ सरकारले बुधबार नीति तथा कार्यक्रम ल्याउँदै छ भने असार १ गते बजेट ल्याउने तयारी गरेको छ । यो बर्ष करिब ३४ अर्वको बजेट आउने अर्थ मन्त्रालयले जनाएको छ ।