सरकारका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा : कोइराला

 

पोखरा, मंसिर ६ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कम्युनिष्ट सरकारका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा परेको बताएका छन् । उनले केपी ओली सरकार संघीयता विरोध भएको आरोप लगाउँदै त्यसलाई ठीक ठाउँमा ल्याउन कांग्रेसले यो चुनाव जित्न आवश्यक रहेको बताए ।

शुक्रबार पोखरा–९ मा आयोजित चुनावी सभामा नेता कोइरालाल सरकारले चालेका सबै कदम अलोकतान्त्रिक भएको भन्दै सरकार संविधान, प्रेस स्वतन्त्रता, समावेशिता, गणतन्त्र, संघीयता मास्न उद्धत रहेको बताए । संसदमा रहेको मिडिया काउन्सिल विधेयक पास हुने क्रममा रहेकाले त्यो पास भएमा लोकतन्त्र भन्ने चिज नेपलाबाट हराउने बताए ।

विकास निर्माण बारे बोल्दै नेता कोइरालाले भने, ‘कास्की क्षेत्र नं. २ अन्तर्गत केही वडामा कांग्रेसका प्रतिनिधि छन्, प्रदेशमा पनि कांग्रेसकै प्रतिनिधि छन् । त्यसैले प्रतिनिधिसभामा पनि कांग्रेसकै नेता पुगे यस क्षेत्रको विकास कायापलट हुन्छ ।’

अर्का केन्द्रीय सदस्य गगन कुमार थापाले खेमराज पौडेललाई मत दिएर जिताउन आग्रह गरे । राजनीतिमा सज्जन, सदाचारी, इमान्दारी, आफू र परिवार भन्दा माथि उठ्ने, राजनीतिलाई पेशा नठान्ने मान्छे आवश्यक रहेको भन्दै उनले यी सबै चिज उम्मेदवार पौडेलमा पाउन सकिने बताए ।

‘खमेराज गुरु सबैको प्रेरणाको स्रोत हुनुहुन्छ । सादगी नेता खेमराज पौडेललाई पुरस्कार स्वरुप जिताएर पठाउन आवश्यक छ’, उनले भने, ‘खेमराजको यसअघिका गतिविधिलाई बुझेर मत दिनुहोला ।’

यो निर्वाचन अंक गणितको हिसावले केही नहुने भन्दै नेता थापाले निर्वाचनले दिने सन्देश महत्वपूर्ण भएको बताए । यस्तो अनुकलु अवस्थामा पनि सरकारले सिन्को भाच्ने काम नगरेको भन्दै उनले भने, ‘सरकारका कारण संघीयता धरापमा प¥यो । संघियता केपी ओलीले खानुभयो, पंगु बनाउनु भयो । विरोध गर्नुपर्ने मुख्यमन्त्रीहरू हली बनेर बस्नुभयो ।’
पोखरा–९ की वडासभापति उमा ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता शुक्रराज शर्मा, विन्दुकुमार थापा, विरेन्द्रनारायण विजुक्छे, रामराज लामिछाने, शिवराज बाँस्तोला लगायतले बोलेका थिए ।

कांग्रेसको तेस्रो चरणका कार्यक्रम शुरु

नेपाली कांग्रेस कास्कीको चुनाव प्रचार अभियान आजदेखि तेस्रो चरणमा प्रवेश गरेको छ । कांग्रेसले उम्मेदवार मनोनयनदेखि मौन अवधिसम्मका समयलाई ३ चरणमा विभिाजन गरी चुनावी प्रचार गरेको थियो । जसमा पहिलो चरण ५ दिन, दोस्रो र तेस्रो चरण ७÷७ दिनको छ ।

पहिलो चरणमा चुनावी प्रचार समिति गठन र रणनीतिक छलफल गरेको कांग्रेसले दोस्रो चरणमा पूरै समय घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित ग¥यो । तेस्रो चरणका ७ दिनमा पूरै समय चुनावीसभा, घरदैलो, मतदाता भेटघाट मै केन्द्रित गर्ने कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार समितिका सभापति कृष्ण केसीले जानकारी दिए ।

उनले यो चरणमा चुनावीसभामार्फत पार्टीको प्रतिवद्धता जनतासामू लैजाने, मतदातालाई लोभ र प्रलोभनमा पार्नेहरू गोप्य रुपमा अनुगमन र खबरदारी गर्ने बताए । ‘पूरै पार्टी पंक्ति यो चुनावमा परिचालन भएको छ । जुन ठाउँमा जो आवश्यक पर्छ सोही अनुरुप रणनीति तयारी गरेका छौं’, सभापति केसीले भने, ‘अबको ७ दिन मतदाता केन्द्रित हुनेछौं । पैसाको मुठो बाँडेर मतदातालाई प्रलोभन पार्ने विरुद्ध खबरदारी गर्न पूरै तयारी गरेका छौं ।’