सरकारका कामप्रति नेकपाकै सांसदले गरे आलोचना (कसले के भने ?)

पोखरा, भदौ १ ।
सांसद राजीव पहारीले सरकारले जथाभावी कर उठाएर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए । ‘स्थानीय तहलाई कानुन बनाउने र लागू गर्ने स्वायत्तता छ । तर जनताकै ढाड सेक्ने गरी अतिआवश्यक कुराहरुमा पनि कर लगाईएको भन्ने समाचार संचार माध्यममा आईरहेका छन् । करको नाममा जनताले ७ दशकदेखि आन्दोलन गरेर प्राप्त गरेका उपलब्धी संघीय लोकतान्त्रीक गणतन्त्रमाथी विभिन्न कोणबाट प्रहार भैरहेको छ, उनले भने–गण्डकी प्रदेशमा कुनकुन क्षेत्रमा कतिकति कर कहाँकहाँ लगाईएको छ प्रदेश सरकारले यो सभामार्फत जनतालाई जानकारी गराईदिन अनुरोध गर्दछु । साथै गण्डकी प्रदेशले पनि कुन शीर्षकमा कति कर लगाएको छ जानकारी गराईदिनुहोला ।’ एकद्धार प्रणालीबाट कर संकलन गर्ने वातावरण सिर्जना गर्न उनले सुझाए ।

सँगसँगै पहारीले पोखरामा निर्माणाधिनं क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबारे पनि कटाक्ष गर्न भ्याए । पटक पटकको सरकारी गतिविधीले एयरपोर्ट बन्न नदिने खतरा बढेको भन्दै उनले संघीय सरकारको कडा आलोचना गरे । ‘एयरपोर्टलाइ कति जग्गा चाहिन्छ पहिले थाहा हुँदैन ? केटा–केटिले माटोको घर बनाइ खेलेको हो र ? उनले प्रश्न गरे–कहिले ह्यांगर भनेको छ, कहिले के भनेको छ । जनताको घरबास उठाउने गरी पटकपटक अधिग्रहण गर्नु जायज काम हैन । सरकारको ध्यानाकर्षण होस् ।’ सांसद दीपक कोइरालाले कुनैपनि बाहनामा एयरपोर्ट निर्माणको काम रोक्न नहुने बताए । ‘स्थानीयलाई अन्यायमा नपारिकन समस्याको हल खोजिनुपर्छ । जनतालाई दुख दिन पाईंदैन, उनले भने–विमानस्थल बन्नुपर्छ तर जनताको घरबास सुरक्षित गरिनुपर्छ ।’ बागलुङका सांसद इन्द्रलाल सापकोटाले धवलागिरी अस्पतालको सेवाप्रति असन्तुष्टी जनाए । केही दिन अघि एउटी महिलालाई सुत्केरी गराउन ४ जिल्लाका अस्पताल डुलाउनुपरेको समाचार सञ्चार माध्यममा आएको थियो । सोही घटनालाई उदाहरण दिँदै उनले भने–‘अस्पतालमा आवश्यक चिकित्सक र औषधी–उपकरण पठाईयोस् । विरामीलाई सहज सेवा लिने अवस्था सिर्जना गरियोस् ।’ काँग्रेस सांसद ललितकला गुरुङले पनि अस्पतालमा हुने मनपरीलाई अन्त्य गरी तुरुन्त स्तरीय सेवा प्रवाह गर्न सरकारको ध्यानाकर्षण गराईन् । अर्का सांसद विष्णुप्रसाद लामिछानेले विनादर्ता मेडिकल चलाउने र मनपरी औषधी विक्रि वितरण हुने गरेको भन्दै त्यसलाई रोक्न सरकारलाई सुझाव दिए ।

काँग्रेसका कृष्णचन्द्र नेपाली पोख्रेलले सामाजिक परिचालकको मुद्धामा सरकार गम्भीर नभएको गुनासो गरे । ‘रोजीरोटी खोसिएपछि सडक झरेका महिलामाथी मुख्यमन्त्री कार्यालय अगाडी नै लाठी चार्ज भएको छ । यो दुखद घटना हो, उनले भने–सामाजिक परिचालकको दायित्व कसको हो ? सदनमा जानकारी चाहियो ।’ उनले योग्यता अनुसार सामाजिक परिचालकहरुलाई पुनर्वहाली गराउनुपर्ने माग राखे । सांसद प्रकाशचन्द्र दवाडीले पनि सामाजिक परिचालकलाई सरकारले अन्याय गरेको आरोप लगाए । देशलाई अप्ठेरो परेको बेला स्थानीय निकाय धानेका सामाजिक परिचालकलाई अहिले विनाकारण हटाउन नमिल्ने उनको भनाई छ । जनमोर्चाकी पियारी थापाले बागलुङको निसीखोलामा पहिरोका कारण धनजनको क्षति भएकोप्रति सरकारलाई जानकारी गराईन् । नयाँ शक्तिका हरिशरण आचार्यले जनयुद्धका पीडित परिवारले पढ्ने स्कुलमा राजनीतिकरण भएको प्रति सचेत गराए । पोखरा १४ मझेरीपाटनमा रहेको शहीद स्मृती स्कुल विवादका कारण विद्यार्थीहरुले तालाबन्दी गरेर आन्दोलन थालेको भन्दै छानवीन समिति गठन गरी समस्या समाधान गर्नुपर्ने उनको माग छ । सांसद विनोद केसी, पुष्पा केसी लगायतले पनि आफ्ना भनाई राखेका थिए । विहिबारको बैठकले मुख्य न्यायधिबक्ताको काम, कर्तब्य र अधिकार तथा सेवा सुविधा सम्बन्धी विधेयक सर्वसम्मत पारित गरेको छ ।