समृद्ध मुलुकका लागि उम्मेदवारी–अधिकारी

पोखरा, कार्तिक २७ ।
नेकपा एमालेका नेता तथा कास्की क्षेत्र नं. २ का प्रतिनिसधसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले राजनीतिमा फोहोर थुप्रिएको भन्दै त्यसलाई सफा गरेर समृद्ध मुलुक सपना साकार पार्ने अठोट गरेका छन् । पोखरामा आयोजित सभामा अधिकारीले विचारको प्रतिस्पर्धामा उत्रिन आहन गर्दै शेरबहादुर, रामचन् आधा दर्जनपटक उम्मेदवार हुँदा केही नबोल्नेले आफूलाई ३ पटक चुनाव जिताउनु हुँदैन भन्नु तर्कविहीन भएको दाबी गरे ।
अधिकारीले जतिबेला कांगेसले आफ्ना नेतालाई अब तपाईलाई पुग्यो, अरुलाई पालो दिनुस् भन्न सक्छन् र त्यतिबेला आफू पनि चुनाव नलड्ने बताए । उनले भने, ‘राजनीतिमा थुप्रिएको फोहर सफा गरेर समृद्ध मुलुकको सपना साकार पार्न वाम गठबन्धनको साझा उम्मेदवार बनेको हुँ ।’

कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले किसानमैत्री सरकार निर्माणका लागि बाम गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् । उनले वन, जंगल, जल, जमिन र जडिबुटी सदुपयोगको नेतृत्व आफू र आफ्नो पार्टीले लिने उद्घोष गरे । उनले ग्रामीण विकास आफ्नो प्रमुख प्राथमिकता भएको जनाए ।
समानुपातिक उम्मेद्वार सोमनाथ अधिकारी ‘प्यासी’ले कास्कीलाई कम्युनिस्टको लालकिल्लाको संज्ञा दिँदै यसपालिको चुनावपछि यहाँ बाम गठबन्धनको झण्डा गाडिने उद्घोष गरे ।
चुनाव प्रचारप्रसारका लागि जनताको घरदैलोमा पुगेका कास्की क्षेत्र नं २ प्रदेश १ का उम्मेदवार कृष्ण थापाले जनताकै हितमा काम गर्ने उम्मेद्वार विजय हुने बताएका छन् । प्रचारप्रसारका लागि पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ पुगेका थापाले जनताले आफूलाई भोट दिएर विजयी बनाउने विश्वास प्रकट गरे । ‘जसले काम गर्छ, जनताले उसैलाई भोट दिन्छन्,’ उनले भने, ‘हारजित जनताकै हातमा हुन्छ ।’
वाम गठवन्धनलाई जनताले स्वागत गरेकाले जित सुनिश्चित रहेको उल्लेख गरे । ‘वाम गठवन्धनमा जनतालाई पूर्ण विश्वास छ,’ उनले भने, ‘राजनीतिक अस्थिरतालाई यही गठवन्धनले पार लगाउनेछ ।’ विगतमा आफ्नो पार्टीले गरेको कामको मूल्यांकन गरी जनताले साथ दिएको उनको भनाइ छ । ‘हामी काममा विश्वास गर्छौै,’ उनले थपे, ‘कास्कीमा स्थानीय चुनावले नै देखाएको छ कि जनता कसको पक्षमा छन् ।’
उनको प्रदेश निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिकाका वडा नम्बर ७, १५, १७, २१ र ३३ छन् । जस अन्तर्गत वडा नम्बर ७ मा आइतबार घरदैलो भएको थापाका सहयोगी रामराज पौडेलले बताए । आइतबार मासबार, रत्नचोक, जनप्रिय टोल, राष्ट्र बैक चोक हँदै मुस्ताङ चोक लगायतका ठाँउमा घरदौलो कार्यक्रम गरिएको हो ।
आइतबार नै भूपू प्रहरी तथा सैनिक संगठन पोखरा–१७ को बैठक बसेको छ । बैठकले वाम गठवन्धनका उम्मेदवारलाई जिताउन परिचालित हुने निर्णय गरेको क्षेत्रीय समन्वय कमिटी कास्की २ प्रदेश १ कार्यालय व्यवस्थापन संयोजक हीरा गिरीले जानकारी दिइन् । संगठनका अध्यक्ष प्रेमबहादुर पराजुलीको अध्यक्षतामा बैठक भएको हो ।